‘अपाङ्गता भएका बालबालिकाहरुको पुनर्जीवन’

अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको सेवा



काभ्रे। 

अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा र ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक मार्फत समुदायमा पु¥याएको सेवाका बारेमा जानकारी गराएको छ । अस्पतालका व्यवस्थापक प्रकाश यादवले अस्पतालले ३८ वर्षको अवधिमा पु¥याएको सेवाका बारेमा जानकारी गराउनु भएको थियो ।

‘अपाङ्गता भएका बालबालिकाहरुलाई पुनर्जीवन दिएका छौँ’–अस्पताल व्यवस्थापक प्रकाश यादवले भन्नुभयो–‘राज्यले अपाङ्गता भएका बालबालिकाहरुलाई भत्ता भन्दा रोजगार दिने गरी उपचारका लागि सहजीकरण गर्नु आवश्यक छ ।’ ९५ हजार बालबालिकाहरुले अस्पताल आफैले तयार गरेका ९५ हजार वटा कृत्रिम खुट्टा प्राप्त गरेका छन् । ५० हजार बालबालिकाहरुको ठुलो खालको अप्रेसन गरिएको छ ।

गत आर्थिक वर्षमा मात्रै १ लाख १० हजारले एक वर्षमा सेवा लिएका छन् । एक सय बेडको अस्पतालमा २ सय जनाको जनशक्ति कार्यरत छ । अस्पताललाई अमेरिकन हिमालयन फाउन्डेसनले आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । अघिल्लो वर्ष ५ करोड रुपैयाँ प्राप्त भएको मध्ये ३ करोड सर्जरीका लागि विनियोजन गरिएको थियो । अस्पतालको सेवा र सेवाबाट प्राप्त उपलब्धीका बारेमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले खुलेर प्रशंसा गर्नु भयो ।

‘नागरिकहरुले प्राप्त गरेको सेवा र त्यसको प्रभावकारीताका बारेमा जति प्रशंसा गरे पनि अपुरो हुन्छ’–समन्वय समिति प्रमुख दीपककुमार गौतमले भन्नुभयो–‘जिल्लामा रहेका १३ वटै पालिकासँगको समन्वयमा स्थानीय स्तरमा रहेका अपाङ्गता भएका बालबालिकाहरुको पहिचान गरी उपचार गरी जिल्लालाई अपाङ्गता मुक्त जिल्ला घोषणा गर्न पहल गर्नेछौं ।’

दातृ संस्था अमेरिकन हिमालयन फाउन्डेसनकै तर्फबाट ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले नेपालका १८ वटा जिल्लाका १२ हजार ५ सय बालबालिकाहरुले शिक्षाका लागि सहयोग प्राप्त गरेका छन् ।

बागमती प्रदेशका ८ वटा जिल्लाका केहि विद्यालय र काभ्रेका २८ वटा विद्यालयमा बालबालिकाहरुले शैक्षिक छात्रवृत्ति प्राप्त गरिहेको कार्यक्रम संयोजक उमेश विश्वकर्माले बताउनुभयो ।

उक्त संस्थाले विद्यालय तह देखि माथिल्ला कक्षाहरुमा समेत सहयोग उपलब्ध गराउँदै आएको छ । विद्यालयमा उपलब्ध गराएको सहयोग तथा विद्यार्थीहरुले प्राप्त गरेको सहयोगबाट उनिहरुको जीवनमा आएको परिवर्तनका बारेमा स्थानीय तहका जनप्रतिनिधिहरु पाँचखाल नगरपालिका उपप्रमुख सुर्यमाया दनुवार, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा लगायतले चर्चा गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्षहरुले विद्यालयमा प्राप्त भएको सहयोगका कारण गरिब विद्यार्थीहरुको शिक्षामा सहयोग पुगेको प्रधानाध्यापकहरुले बताए । विद्यार्थीहरुले समेत भविष्य निर्माणमा उक्त संस्थाको सहयोग पछि सहज भएको बताएका थिए ।

कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगरपालिका भित्र रहेका  अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रले नेपालका कुनाकाप्चामा रहेका बालबालिकाहरुको उपचारमा सहज बनाएको बताउनुभयो । बनेपाको आँखा अस्पताल तथा स्पाइनल इन्जुरी, शिर मेमोरियल अस्पतालले नागरिकहरुले प्राप्त गर्ने सेवालाई सहज र सरल बनाएको बताउनुभयो ।

कार्यक्रममा सेवा प्राप्त गर्ने सेवाग्राहीहरूले अस्पतालको सेवाले आफ्ना बालबालिकाहरुले पुनर्जीवन प्राप्त गरेको बताए । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, स्वास्थ्य कार्यालय प्रमुख डा. पुरुषोतम सेढाई लगायत विभिन्न क्षेत्रका ब्यक्तित्वहरुले अस्पतालले पु¥याएको सेवाका बारेमा चर्चा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्