गौरिकाको अर्को कीर्तिमान



काठमाडौं । गौरिका सिंहले जापानको फुकुओकामा जारी २० औ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा अर्को कीर्तिमान राखेकी छन् ।

गौरिकाले आफ्नो पुरानो समयमा सुधार गर्दै नयाँ समयका साथ राष्ट्रिय किर्तिमान राखेकी टोली नेता एवं नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका हुन् । बुधबार सम्पन्न ५० मिटर ब्याकस्ट्रोकमा गौरिकाले २०१६ मा गोहाटीमा आयोजना भएको १२ औं साग गेम्समा राखेको ३१.८७ सेकेन्डको समयमा सुधार गरिन् । उनले उक्त स्पर्धामा ३१.४४ सेकेन्ड समयको नयाँ राष्ट्रिय किर्तिमान कायम गरेकी हुन् । यस अघि गौरिकाले यसै च्याम्पियनसिपमा १ सय मिटर ब्याकस्ट्रोकमा पनि नयाँ किर्तिमान राखेकी थिईन् ।

ओलम्पिकको छनौट प्रतियोगिता समेत रहेको च्याम्पियनसिपको हिजै भएको पुरुष तर्फको १ सय मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहलेपनि पनि नयाँ कीर्तिमान राखे । उनले आफ्नो समयमा सामान्य सुधार गर्दै नयाँ किर्तिमान कायम गरेका हुन् । एलेक्सले पुरानो समय ५२.९६ सेकेन्डको समयमा सामान्य सुधार गर्दै ५२.९४ समयका साथ नयाँ रेकर्ड राखेका हुन् । एलेक्सले हालै सम्पन्न ११ औं एनएसए कप च्याम्पियनसिपमा ५२.९६ सेकेन्ड समयको किर्तिमान राखेका थिए ।

मंगलबार सम्पन्न प्रतियोगितामा डुवाना लामाले २ सय मिटर फ्रिस्टायलमा आफ्नो ब्यक्तिगत समयमा सुधार गरेकी थिइन् । उनले उक्त स्पर्धामा २ मिनट १२.४६ सेकेन्ड समयमा दुरी पुरा गरेकी थिईन् । यस अघि डुवानाको ब्यक्तिगत समय २ मिनट १५.०१ समय रहेको थियो । यस विधामा गौरिकाको नाममा २ मिनट ११.९४ सेकेन्डको कीर्तिमानी समय रहेको छ ।

अब नेपाली खेलाडीहरुको दुई खेल बाँकी छ । बिहिबार डुवानाले १ सय मिटर फ्रिस्टायल र एलेक्सले शुक्रबार ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने टिम ब्यवस्थापक नरेश बैद्यले बताएका छन् ।

ओकालागानको विश्व कीर्तिमान

जापानमा जारी प्रतियोगितामा अस्टे«लियाकी युवा पौडीबाज मोली ओकालागानले महिला २ सय मिटर फ्रिस्टायलमा विश्व कीर्तिमान रचेकी छन् । १९ वर्षीया ओकालागानले १ मिनेट ५२.८५ सेकेण्डमा दुरी पुरा गरेकी हुन् । योसँगै उनले फेडेरिका पेलेग्रिनीको विश्व कीर्तिमानलाई ०.१३ सेकेण्डले ओझेलमा पारेकी हुन् । इटालीकी पेलेग्रिनीले २००९ को विश्व प्रतियोगितामा २ सय मिटर फ्रिस्टायलमा १ मिनेट ५२.९८ सेकेण्ड समयको विश्व कीर्तिमान राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्