स्पेन र जापान विश्वकपको अन्तिम १६ मा



लन्डन, (एजेन्सी) । उपाधि दावेदार टोलीको रुपमा रहेका स्पेन र जापान फिफा महिला विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

समूह चरणको दोस्रो खेलमा जाम्वियामाथि ५–० को फराकिलो गोलअन्तरको जित निकाल्दै स्पेनले एक खेल बाँकी छँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो । स्पेनको जितले गर्दा एसियाली राष्ट्र जापान पनि एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरेको छ । यो समूहबाट जाम्विया र कोस्टारिका समूह चरणबाटै बाहिरिएका छन् ।

न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा बुधबार भएको खेलमा स्पेनका लागि जेनीफर हर्माेसो र अल्वा रेडोन्डोले समान दुई गोल गरेका थिए । एक गोल टेरेसाको नाममा रह्यो । गोलको वर्षा भएको खेलको नवौं मिनेटमा टेरेसाकै गोलबाट स्पेनले अग्रता लिन सफल भएको थियो । उनले जेनिफरको पासमा गोल गरेकी थिइन् । १३औं मिनेटमा जेनिफरले गोल गर्दै स्पेनलाई पहिलो हाफमा २–० को अग्रता दिलाइन् ।

दोस्रो हाफमा स्पेनले थप आक्रमक खेल्दै तीन गोल थपेर फराकिलो जित निकाल्न सफल भयो । ६९औं मिनेटमा रेडोन्डोले गोल गर्दै स्पेनलाई ३–० को अग्रता दिलाइन् । उनले इभा मारिया नाभारोको पासलाई सदुपयोग गरिन् । स्पेन यतिमै रोकिएन । ७४औं मिनेटमा जेनिफरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै स्पेनलाई सहज जिततर्फ अग्रसर गराइन् ।

८६औं मिनेटमा रेडोन्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दे स्पेनलाई ५–० को फराकिलो जित दिलाइन् । यस जितले स्पेन दुई खेलबाट ६ अंक जोडेर समुह ‘सी’ मा शीर्षस्थानमा उक्लिएको छ । समान ६ अंक नै रहेपनि जापान गोल अन्तरमा दोस्रो स्थानमा छ । यो समुहमा जाम्विया र कोस्टारिकाले अंकको खाता खोल्न सकेका छैनन् ।

अब जापान र स्पेनबीचको खेलले समुह विजेताको टुंगो लाग्नेछ । यि दुई टोलीबीचको खेल ३१ जुलाईमा हुनेछ । सोही दिन कोस्टारिका र जाम्वियाबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोली आफ्नो अन्तिम खेलमा जित निकाल्दै विश्वकपलाई सुखद् बिदाई गर्न चाहन्छन् । यही समुहको अर्काे खेलमा जापानले कोस्टारिकालाई पराजित गर्दै समुहमा लगातार दोस्रो जित निकालेको छ । न्यूजिल्यान्डको डुनेडिनस्थित फोर्सिथ बार रंगशालामा बुधबार जापानले कोस्टारिकालाई २–० गोलअन्तरले पराजित गरेको हो ।

जापानलाई जित दिलाउन हिकारु नाओमोटा र एओबा फुजिनोले समान गोल गरे । खेलको २५औं मिनेटमा नाओमोटाको गोलमार्फत जापानले अग्रता लिएको थियो । दुई मिनेटपछि नै फुजिनोले टोलीको अग्रता दोब्बर बनाइन् । त्यसपछि थप गोल निस्कन नसक्दा जापान २–० ले विजयी भयो । पहिलो खेलमा जापानले जाम्बियालाई ५–० ले पराजित गर्दा कोस्टारिका स्पेनसँग ३–० ले पराजित भएको थियो ।

क्यानडाको पुनरागमन जित

प्रतियोगिताअन्तर्गत समूह बी को बुधबार सम्पन्न खेलमा ओलम्पिकको महिला फुटबलको विजेता क्यानडाले पुनरागमन जित निकालेको छ । एक गोलले पछि परेको क्यानडाले गणतन्त्र आयरल्यान्डलाई २–१ ले हरायो । आयरल्यान्डको यो महिला विश्वकपमा डेब्यु सहभागिता हो भने यो हारले टोली समूह चरणबाटै बाहिरिनु परेको छ ।

यो जितसँगै क्यानडाको २ खेलबाट ४ अंक भएको छ र टोली शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा अस्टे«लिया रहेको छ भने तेस्रो स्थानमा नाइजेरिया रहेको छ । यी दुबैले एक–एक खेल खेलेका छन् । आयरल्यान्डको भने दुई खेलमै पराजित भएपछि नकआउट चरणमा पुग्ने कुनै संभावना नै रहेन ।

आइरिस कप्तान क्याटि म्याकक्याबेले गोल गर्दै आयरल्यान्डलाई १–० को अग्रतामा राखेकी थिइन् । यो आयरल्यान्डको लागि विश्वकपमा पहिलो गोल समेत थियो । उनले खेलको चौथो मिनेटमै गोल गरेर टोलीको शानदार शुरुवात गरेकी थिइन् । तर, यो खुशी आत्मघाती गोलबाट निरासामा बदलियो ।

पहिलो हाफको इन्जुरी समयमा आयरल्यान्डकी डिफेन्डर मेगान कोनोलीले आत्मघाती गोल गर्न पुगिन् । जुलिया ग्रोसोको क्रसलाई कोनोलीले टच गर्न पुगेपछि बलले आफ्नै जाली चुम्न पुगेको थियो । यो गोलपछि पहिलो हाफ १–१ बराबरीमा सकिएको थियो ।

दोस्रो हाफ शुरु भएको आठौ मिनेटमा क्यानडाले खेलमा २–१ को अग्रता लिएको थियो । एड्रियाना लिओनले ५३ औं मिनेटमा गोल गरेकी थिइन् । क्यानडाले समूहमा अन्तिम खेल सहआयोजक अस्टे«लियासँग खेल्नेछ । यसअघि क्यानडाले नाइजेरियासँग गोलरहित बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्