मणिपुरमा जातीय हिंसा : महिला अस्मितामाथि खेडबाड, भारतभर मोदीको विरोध



काठमाडौं । विश्वकै शिर निहुरिने गरी छिमेकी मुलुक भारतको पूर्वोत्तर राज्य मणिपुरमा भएकोे महिलामाथि भएको अत्याचारको घटनाले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी विरोधी स्वर गुन्जिन थालेको छ ।

झण्डै ३ महिनादेखि जारी जातीय द्वन्द्वका क्रममा मैतेइ जातिका आन्दोलनकारीले कुकी जातिका तीन महिलालाई निवस्त्र पारेर बजार घुमाउनुका साथै उनीहरूमध्ये २१ वर्षकी एक युवतीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएपछि अहिले भारतभर आन्दोलनले उग्ररूप लिएको छ ।

मणिपुरका मुख्यमन्त्री एस विरेन सिंहले आन्दोलनरत पक्षलाई आतंककारीको संज्ञा दिएपछि त्यहाँको माहोल थप तनावग्रस्त बनेको छ ।

मणिपुरमा भएको हिंसालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै कदम नचालेको भन्दै भारतभर मोदीको तीव्र विरोध हुँदै आएको छ । मणिपुरमा भएको आन्दोलनका बारेमा अन्य राज्यका जनताले थाहा नपाउन् भन्दै केन्द्र सरकारले इन्टरनेट र फोन काटिदिएपछि प्रधानमन्त्री मोदीविरुद्ध माहोल बन्दै गएको छ ।

तीन महिनाअघि भएको महिलामाथिको अत्याचारको भिडियो हालै सार्वजनिक भएपछि आम भारतीय महिलाहरूले अहिले प्रधानमन्त्री मोदीको खुलेर विरोध गर्न थालेका छन् । उनीहरूले प्रधानमन्त्री मोदीलाई महिला विरोधी प्रधानमन्त्रीको उपमा दिएका छन् ।

भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश धनन्जय यशवंत चन्द्रचुडले मणिपुरमा भएको महिला हिंसा विरोधी कामका बारेमा कारबाही गर्ने चेतावनी दिएपछि भारतीय प्रधानमन्त्री मोदीले पहिलोपटक मणिपुरको घटनालाई लिएर आफू दुःखी भएको वयान दिनुभएको थियो ।

विपक्षी दल भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीले महिलामाथि भएको हिंसालाई प्रधानमन्त्री मोदीको निर्देशनमा अहिलेसम्म दबाएर राखेको आरोप लगाएपछि आगामी वर्ष भारतमा हुने संसदीय निर्वाचनमा मोदीलाई फलामको च्युरा चपाउनु बराबर हुने आंकलन भारतीय बुद्धिजीवीहरूले गरेका छन् ।

अहिले भारतमा महिला विकास मन्त्री स्मृति इरानी, प्रधानमन्त्री मोदी र मणिपुरका मुख्यमन्त्री सिंहले राजीनामा दिनुपर्ने भन्दै भारतका प्रमुख सहरहरूमा विरोध प्रर्दशन हुँदै आएको छ ।

अल्पसंख्यक कुकी जातिका ५२, ४२ र २१ वर्षका महिलालाई नाङ्गै बनाएर जुलुसमा बजार परिक्रमा गराई तीमध्ये २१ वर्षकी युवतीलाई सार्वजनिक स्थानमा सामूहिक बलात्कार गरेको भिडियो केही दिनअघि सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो । भारतीय मिडियाले ती युवतीको अवस्था चिन्ताजनक रहेको जनाएको छ ।

आन्दोलनमा सहभागी मैतेइ जातिका २२ जना युवाहरूले उक्त सामूहिक बलात्कार गरेका भारतीय मिडियाले जनाएको छ ।

मैतेइ जातिले आन्दोलनका क्रममा अल्पसंख्यक कुकी जातिका महिलामाथि गरेको अत्याचारका क्रममा आफ्नो अस्तित्व जोगाउन ३ जना पीडित महिलाले सुरक्षाकर्मीको साथ खोज्दै सुरक्षाकर्मीको नजिक गएको भए पनि सुरक्षाकर्मीले ती महिलालाई धकेलेर आन्दोलकारीतर्फ पठाइदिएको भिडियोसमेत अहिले भइरल भएको छ । त्यति मात्रै होइन, केन्द्र सरकारले मणिपुरको हिंसालाई दबाउन केन्द्रबाट पठाएको सुरक्षा फौजले स्थानीय जनतामाथि गरेको ज्यादतीका भिडियोहरू पनि अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

कांग्रेसलगायत विपक्षी दलले मणिपुरको घटनालाई मुख्य मुद्दा बनाएर देशभर माहोल आफ्नो पक्षमा पार्न थालेको छ ।

लामो समय सत्ता बाहिर रहेको कांग्रेसलाई पुनः सत्तामा फर्काउने उद्देश्यले गान्धीले ‘भारत जोडो’ यात्रा शुरू गरेपछि गान्धीको लोकप्रियता ह्वात्तै बढेको देखिन्छ ।

यसै पृष्ठभूमिमा राज्यपक्षबाट भएको घेराबन्दीलाई वास्तै नगरी मणिपुरको भ्रमणमा रहेका कांग्रेसका नेता राहुल गान्धीमाथि भारतीय जनता पार्टीले हिंसा भड्काउन त्यहाँको भ्रमण गरेको आरोप लगाएका थिए । यद्यपि, मणिपुरका जनताले भने गान्धीलाई राजधानी इन्फालमा भव्य स्वागत गरेका थिए ।

गत मे ३ देखि मणिपुरमा शुरू भएको जातीय द्वन्द्वका कारण त्यहाँ बसोबास गर्दै आएका ५० हजारभन्दा बढी नेपालीभाषी हिन्दुहरू आफ्नो थातथलो छोडेर अन्यत्र पलायन हुन वाध्य भएका छन् ।

झण्डै ३४ लाख जनसंख्या रहेको मणिपुरको राजधानी इन्फालमा अहिले हिंसा उत्कर्षमा पुगेको छ । मणिपुरको आधा जनसंख्याभन्दा बढी अर्थात ५४ प्रतिशत जनसंख्या रहेको मैतेइ जातिले आफूहरू पनि जनजातिको सूचीमा पर्नुपर्ने माग राख्दै अदालतमा मुद्दा दायर गरेपछि भारतको सर्वोच्च अदालतले मैतेइ जातिलाई पनि जनजातिको अनुसूचीमा समावेश गर्न आदेश दिएको थियो । अदालतको उक्त आदेशपछि दुई समूहबीच झडप भइरहेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

हिंसाले जातीय रूप लिएपछि अल्पसंख्यकको सूचीमा रहेका कुकी र नागा जातिहरूले मैतेइ जातिको घर जलाउने बस्ती बस्तीमा पसेर आक्रमण गर्नेजस्ता काम शुरू गरेका थिए । उक्त जातीय हिंसामा परेर १ सयभन्दा बढी मानिसको मृत्यु भएको छ भने २ लाखभन्दा बढी स्थानीय ज्यान जोगाउन छिमेकी राज्यतर्फ पलायन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्