एकीकृत समाजवादी संकटमा : नेता तथा कार्यकर्ताहरू एमालेमा फर्किने लहर बढ्दो



काठमाडौं । माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी गठन भएको दुई वर्षमै संकटमा फसेको छ । पार्टी र आफ्नो राजनीतिक भविष्यमाथि प्रश्न चिह्न खडा गर्दै पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताहरूले नै पार्टी परित्याग गरी पुरानै दल नेकपा (एमाले)मा फर्कने लहर चलेसँगै एकीकृत समाजवादी संकटमा परेको हो ।

एमालेका संगठन विभाग सचिव गगन विष्टले एमालेमा फर्कने एकीकृत समाजवादी पार्टीका नेताहरूको लिस्ट लामो रहेको दाबी गर्दै भन्नुभयो– ‘एकीकृत समाजवादी पार्टी भनेर माधव नेपाललाई रुँगेर बस्ने नेताहरू कम हुँदैछन् । विगत एक वर्षभित्र उक्त पार्टीबाट एमालेमै फर्किएका जिल्लादेखि केन्द्रसम्मको नेतृत्व तहमा रहेका नेताहरूको संख्या तीन दर्जनभन्दा बढी छ । एमालेमा फर्कने केन्द्रीय कमिटी सदस्यहरू त्योभन्दा धेरै छन् ।’

गत जेठमा वरिष्ठ नेता मुकुन्द न्यौपानेसहित एकीकृत समाजवादीका नेता कार्यकर्ताहरू एमालेमा समाहित भएपछि पार्टी प्रवेशको लहर चलेको एमालेका नेताहरूले बताएका छन् । उपाध्यक्ष चुडामणी जंगली, सचिव भागवत विश्वासी, केदार न्यौपानेसमेत पछिल्लो समय एमालेमा फर्किसक्नु भएको छ । त्यस्तै, दर्जनभन्दा बढी केन्द्रीय सदस्य र करिब २० वटा जिल्ला नेताहरू एमालेमा समाहित भएको विष्टको दाबी छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाललाई साथ दिंदै आएका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, रघुजी पन्त, अमृत बोहरा, यज्ञराज सुनुवारलगायत नेताहरूले अन्तिममा उहाँको साथ छाडेर एमालेमै रहेका थिए । नवौं महाधिवेशनबाट निर्वाचित तीन उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यको पूरा साथ पाउने पुरा विश्वास गरेका नेपालले वि.सं. २०७८ भदौमा एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गराउँदा उहाँहरूको साथ पाउनुभएन ।

गत आम निर्वाचनपछि अध्यक्ष नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका नेता घनश्याम भुसाल र उपाध्यक्ष भीम रावललाई पार्टी भित्र्याउन खोजे पनि घनश्याम भुसालमात्रै पार्टीमा प्रवेश गर्नुभएको थियो । नेता घनश्यामको प्रवेशसँगै पार्टीका दर्जनभन्दा बढी नेताहरू एमालेमा फर्कीएका छन् ।

उक्त पार्टीको भविश्य नदेखेरै आफ्नै पुरानो र पक्की घर फर्कनेहरूको लहरै चलेको एमाले पोलिटव्युरो सदस्य विशाल भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी अहिले संगठन निर्माण अभियानमा देशव्यापी लागेका छौं । यो अभियानमा पार्टी प्रवेश गर्नेहरूको संख्या ठूलो छ । अझै एकीकृत समाजवादीबाट त घर फर्क अभियान नै चलेको छ ।’

एकीकृत समाजवादीले अपेक्षा गरेको नेता भीम रावलसँग समेत एमालेले वार्ता गरिरहेको जिकिर गर्दै भट्टराइले भन्नुभयो– ‘पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा बनेको वार्ता टोलीले वार्ता गरिरहेको छ र केही समयमै रावल एमालेमा फर्किएर जिम्मेवारी लिने तयारीमा हुनुहुन्छ ।’ एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई समेत पार्टीमा फर्काउने अभ्यास भइरहेको उहाँले बताउनुभयो । केही समयअघि झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अनौपचारिक भेट गरिसकेको एमाले नेताहरूले दाबी गरेका छन् ।

अध्यक्ष नेपालले पार्टीलाई माओवादीमा मिसाउन खोजेपछि पार्टीमा झनै पहिरो गएको पार्टीकै कतिपय नेताहरूले बताउने गरेका छन् । सम्मानित नेता झलनाथ खनाल र उहाँको समूहमा रहेका नेताहरू माधव नेपालको पछिल्लो गविधिप्रिति सन्तुष्ट नरहेको बताइएको छ । तर, एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले यी सबै विषयहरू एकीकृत समाजवादीलाई कमजोर बनाउन एमालेले चलाएको हल्ला भएको बताउनुभयो । उहाँले एमालेको रणनीति सफल हुन नदिन र पार्टीलाई आगामी निर्वाचनमा एमालेसँग एक्लै प्रतिष्पर्धा गर्न सक्ने बनाउने सबै नेता कार्यकर्ताहरू एक ढिक्का भएर लागेको दाबी गर्नुभयो ।

उता राजनीतिक विश्लेषकहरू पनि राजनीतिक गर्ने व्यक्तिहरूले एकीकृत समाजवादीको भविष्य नदेखेरै पुनः पुरानै दलमा फर्कने गरेको बताउँछन् । राजनीतिक विश्लेषक चीरञ्जीवी आर्यालले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘एकीकृत समाजवादीमा रहेका नेताहरूले उक्त दलमा आफ्नो भविष्य नदेखेरै एमालेमा फर्कने गरेका हुन सक्छन् । उक्त दलका धेरै नेताहरू पछिल्लोपटक आफैंले दुःख गरेको पुरानो दल एमालेमै फर्कनेहरूको संख्या बढेको छ । राजनीतिमा यसलाई स्वभाविकै लिने गरिन्छ ।’

दुई वर्षअघि एमाले अध्यक्ष ओलीमाथि १० आरोप लगाउँदै पार्टी निर्माण गरेको एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पछिल्लो समय नेता कार्यकर्ताहरू टिकाउने चुनौती बढ्दै गएको देखिन्छ । तत्कालीन समयमा ओलीलाई ‘इतिहासकै भ्रष्ट’ प्रधानमन्त्रीको आरोप लगाएका एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरू अहिले ओलीकै हातबाट टिका लगाएर पार्टी प्रवेश गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्