डेंगीको विरामीले भरिएपछि धादिङ अस्पतालमा बेड अभाव



धादिङ ।

धादिङ अस्पतालमा डेंगीका विरामीले बेड भरिएको छ ।

धादिङमा मंगलबार ३८ जना डेंगी पोजेटिभ देखिएपछि भरिभराउ भएको धादिङ अस्पतालमा विरामीलाई राख्ने ठाउँ समेत नभएपछि भर्नागर्नुपर्ने विरामीलाई समेत घर पठाइएको छ ।

मंगलबार डेंगी पोजेटिभ भएका र १०३ डिग्री भन्दा बढी ज्वारो आएका केदार अधिकारीलाई अस्पतालले बेड अभाव भनेर घरमै बस्न पठाएको उपचारमा अस्पताल पुर्याएका किरण श्रेष्ठले जानकारी दिनुभयो ।

सोमबार सम्म विरामीले ७५ बेडको धादिङ अस्पतालमा ४ बेड खाली थियो । मंगलबार साँझ ९ बजेसम्म ४२ जना पोजेटिभ थपिएको र अन्य विरामी समेत अस्पताल आएका कारण बेड अभाव भएको धादिङ अस्पतालका सूचना अधिकारी डा.रामचन्द्र रिजालले बताउनुभयो। ७५ बेड भनिएपछि ८५ बेडमा राखेर उपचार गरिरहेको अस्पतालले जानकारी दिएको छ ।

धादिङ अस्पतलामा रहेका डेंगुका बिरामीहरुमा २ महिनाको बालक देखि ८९ जनाको वृद्धा र हप्ता दिनको सुत्केरी महिला समेतलाई डेंगी पोजेटिभ भएर अस्पताल भर्ना भएका छन् ।

डेंगुका बिरामी अस्पतालमा हप्ता दिनसम्म बस्नु पर्ने भएकोले आफन्त आफैले झुलको व्यवस्था गरेर बेडमा झुल टागेर बस्ने गरेका छन्।

डेंगीका विरामी नीलकण्ठ नगरपालिकामा सबैभन्दा बढी भएकोले यस क्षेत्रमा खोज र नष्ट गर अभियान संचालन गर्नु परेको धादिङ अस्पतालका समेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारीले बताउनुभएको छ।

अस्पतालमा विरामी भरिएपछि प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको अध्यक्षतामा मंगलबार आकस्मिक बैठक बस्दै बेड थप गर्न नसकिने जनाएको छ । जनशक्ति समेत अभाव भएकोले स्थानीय, प्रदेश र संघीय सरकारसंग जनशक्ति व्यवस्थापनका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।

हरेकदिन डेंगीको संख्या बढीरहेको र उपचारका लागि बेड अभाव भएको बेला सरोकारवालाहरु, स्वास्थ्य क्षेत्रमा काम गर्ने निकायहरुले सहयोग गर्नुपर्ने, सचेतना अभियान संचालन गर्नु पर्ने, विरामी व्यवस्थापनका लागि डेंगी किट औषधीको लागि प्रदेश सरकार, नीलकण्ठ नगरपालिका लगायतलाई अनुरोध गर्ने निर्णय सरोकारवालाहरुको बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्