नदीको बीच भागमा फसेका ५ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार 



रुपन्देही ।

  नदीमा एक्कासि बढी आई नदीको बीच भागमा फसेका ५ जनाको मंगलबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
बुटवल उपमहानगरपालिका १३ र १४ को सिमानास्थित दानव नदीमा दाउरा खोज्न गएको बेला बाढी आई नदीको बीचमा भागमा मान्छे फसेको
भन्ने खबर प्राप्त भएपछि सुरक्षा बेस बुटवलबाट उद्धार  टोली खटिएको थियो ।

   नदीको बीचमा फसेका सोही उपमहानगरपालिका १४ कैलाशनगर बस्ने ४२ वर्षीय जनक घर्तीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।

यसैगरी सोही उपमहानगरपालिका ११ बुद्धनगरस्थित तिनाउ नदीमा फसेका ६४ वर्षीय मिनमहादुर गाहालाईपनि सोही बेसबाट खटिएको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।

  बुटवल उपमहानगरपालिका २ पाखापानीमा बस्दै आएका गाहा तिनाउ नदीमा माछा मार्न गएको बेला एक्कासि पानीको बहाव बढ्न गई फसेका थिए ।
सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी परिचालित भई उनको सकुशल उद्धार गर्न सफल भएको हो ।

  यसैगरी रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका ३ बेथरीस्थित तिनाउ नदीमा दाउरा खोज्न गएका बेला नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

  सोही गाउँपालिका ६ का २६ वर्षीय अबदेश पाल, २० वर्षीय सुनिल पाल र सीयारी गाउँपालिका २ बस्ने अबदेश कुमार यादव नदीमा दाउरा खोज्न गएको बेला नदीको बहाव बढ्न गई नदीमा फसेका थिए ।

     सो बारे जानकारी पाउनासाथै  २७ नम्बर  गण रुपन्देहीबाट टोली परिचालित भई उनीहरुको सकुशल उद्धार गरेको हो ।

   यसैगरी सोही जिल्लाको बुटवल उपमहानगरपालिका ११ टपमजुवास्थित तिनाउ नदी किनारमा रहेको हरिलाल गाहाको घरको सामान सुरक्षित स्थानमा सारेको छ ।
नदीले घर कटान गरी केही भाग बगाएको भन्ने खबर प्राप्त हुनासाथ सुरक्षा बेस बुटवलबाट टोली खटिई गई घरको सरसमान सुरक्षित स्थानमा सारेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्