लालगढ ट्राफिक प्रहरीको असुली धन्धा



लालगढ,धनुषा  

ट्राफिक प्रहरीकै कारण राजमार्गमा सवारी जाम हुने गरेको छ । राजमार्गमा चल्ने सवारी साधनको चेकजाँच गर्ने नाममा ट्राफिक प्रहरीले दुईतर्फी चल्ने सवारी साधनलाई एकै स्थानमा रोक्दा सवारी जाम हुने गरेको छ । उता चेकजाँचको बहानामा ट्राफिक प्रहरीले अनधिकृत रकम असुल्ने गरेको सवारी चालकले बताउने गरेका छन् ।

भारतबाट मङ्गलबार फलफूल लिएर मधेश प्रदेशको सिराहास्थित लाहानबाट फर्कँदै गरेको युपी ७८ एच एन ४५५५ नम्बरको भारतीय ट्रकलाई धनुषाको लालगढ ट्राफिक प्रहरी पोष्टले १ सय ५० रुपैयाँ लिएर जानदिएका छन्  । उक्त गाडीका चालक दीपक पालले भने नेपालको हरेक २० किलोमिटरमा रहेका ट्राफिक प्रहरीले विभिन्न बहाना बनाउँदै रकम लिने गरेको दुखेसो पोखे । लाहानबाट फर्कँदै गरेको अबस्थामा धनुषाको लालगढमा ट्राफिक प्रहरीले चेकजाँच गरेपछि उक्त ट्रकका चालकलाई राजमार्ग भन्दा भित्र रहेको पोष्टमा लगेर रकम लिएका छन्  । रकम लिनेमा ट्राफिक प्रहरी हवलदार सत्यनारायण मण्डल रहेका छन्  ।

 भारतको राजस्थानबाट मार्बल लोड गरेर जनकपुर भिट्टामोड हुँदै  बर्दिबास आउँदै गरेको युपी ५३ एफटी ०९४० नम्बरको ट्रकका चालक सरफराज संग ट्राफिक प्रहरी मण्डलले ५० रुपैयाँ भारतीय रुपैयाँ र नेपाली ५० रुपैयाँ लिएको बताउनुभयो । उहाँ भन्नु हुन्छ- नेपाल प्रवेश गरेपछि नीलि प्रहरी र काली प्रहरीले अनावश्यक रुपैयाँ लिने गरेका छन्  । ट्राफिक प्रहरी हवलदार सतनारायण मण्डलले भने  आफूले सवारी चालकसँग अनावश्यक रकम नलिएको बताउनुभयो।

तर, उहाँलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाले अनधिकृत रकम लिएको आरोपमा छानबिनको लागि झिकाएको छ । ट्राफिक प्रहरी उपरिक्षक सन्तोष भट्टराईका अनुसार सवारी चालकको बयानको आधारमा लालगढ ट्राफिक चेकपोस्टका इन्चार्ज माथि छानबिन थालिएको छ ।  राजमार्गमा चल्ने सवारी साधनलाई चेकजाँचको नाममा एउटै जिल्लाको राजमार्गका दुई/तीन स्थानमा बसेर ट्राफिक प्रहरीले सवारी साधनको कागजपत्र रहे/नरहेको मात्र हेर्ने गरेका छन् । उनीहरुले कागजपत्र नभएको सवारी चालकसँग अवैध रकम असुल गर्ने गरेको चालकहरू बताउँछन् ।

 ट्राफिक प्रहरीले सवारी साधनको यान्त्रिक अवस्था भन्दा पनि भारतीय मालबाहक सवारी साधन, पराल, ईट्टा, कवाड लोड मालबाहक सवारी साधन र पशु लोड गरेको सवारी साधनलाई रोकेर चेकजाँचको नाममा सवारी साधनको अनधिकृत रकम लिने गरेको आरोप लाग्दै आएको छ । मधेश प्रदेश अन्तर्गत बाराको जीतपुर सिमरा, नीजगढ, कलैया, प्रसौनी, गण्डक रौतहटको चन्द्रपुर, गौर, गरुडा, डुमरिया, बालचनपुर, गरुडा, शिवनगर, जयनगर, सुकदेव चौक, र गौर यस्तै भित्रि भागमा पर्ने कटहरिया, मौलापुर, समनपुर सर्लाहीको नवलपुर, हरिऔन, हरपुर, मलङ्गवा, महोतरीको बर्दिबास, गौशाला, जलेश्वर, धनुषाको मुझेलिया, ढल्ेकबर, जनकपुर, महेन्द्रनगर, सिराहाको लाहान, धनगढी, सिराहा माडर, गोलबजार सप्तरीको भारदह, शम्भुनाथ, कन्चनपुर, हनुमाननगर लगायतका ट्राफिक प्रहरीले रकम असुल्ने गरेको आरोप  लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्