३७ लाख भन्दा बढीको लत्ताकपडासहित सशस्त्र प्रहरीद्वारा मोटरसाइकल बरामद 

0
Shares

   कपिलवस्तु। 

जिल्लाको बिजयनगर गाउँपालिका १ जवाबैराठ इलाकाबाट मंगलबार सशस्त्र प्रहरीले करिब ३७ लाख २० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा मोटरसाइकल बरामद गरेको छ ।

    सोही ठाउँको जंगल इलाकामा बेवारिसे अवस्थामा रहेको सो लत्ताकपडा तथा भारतीय नम्बर प्लेटका चार वटा मोटरसाइकल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरले बरामद गरेको हो ।

   बरामद लत्ताकपडा तथा मोटरसाइकल कृष्णनगर भन्सार कार्यालय कपिलवस्तुमा बुझाइएको छ ।

चोरीनिकासीको सुर्तीजन्य सामान बरामद 

        इलामको  जिल्लाको सूर्योदय नगरपालिका २ चारमाईल स्थित सीमा इलाकाबाट साउन ८ गते सशस्त्र प्रहरीले करिब ८ लाख ७५ हजार रुपैयाँ बराबरको सुर्तीजन्य सामान बरामद गरेको छ ।

        नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मूल्य बराबरको खुकुरी चुरोट १७ कार्टुन र शिखर चुरोट २ कार्टुन प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगर इलामले बरामद गरेको हो । सामान लैजाँदै गरेका व्यक्तिहरु भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै सोही ठाउँमा सामान छाडी फरार भएका थिए ।

     बरामद सामान पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाइएको प्रहरीले जनाएको छ।