ब्राजिलको पानामामाथि शानदार जित



लन्डन, (एजेन्सी) । एरी बोर्जेसको ह्याट्रिकमा ब्राजिलले फिफा महिला विश्वकपमा पानामामाथि ४–० गोलअन्तरको शानदार जित निकालेको छ ।

जितसँगै समूह ‘एफ’ को ब्राजिलले तीन अंक जोड्दा पानामाले हारबाट प्रतियोगिताको सुरुआत गर्नुप¥यो । अस्ट्रेलियाको एडिलेडस्थित हिन्दमार्श रंगशालामा सोमबार सम्पन्न खेलमा ब्राजिललाई जित दिलाउन बोर्जेसले ह्याट्रिक गरिन् । यो प्रतियोगिताको पहिलो ह्याट्रिक समेत हो । यस्तै बिट्रिज जेनेराट्टो जोआओको नाममा एक गोल रह्यो ।

खेलको १९औं मिनेटमा बोर्जेसको गोलमार्फत ब्राजिलले अग्रता लिएको थियो । २९औं मिनेटमा बोर्जेसले नै टोलीको अग्रता दोब्बर बनाइन् । ४८औं मिनेटमा जाआओले ब्राजिलका लागि तेस्रो गोल गरिन् । ७०औं मिनेटमा बोर्जेसले ह्याट्रिक पूरा गरेपछि ब्राजिलले ४–० को जित हासिल ग¥यो ।

त्यसैगरी जर्मनी र इटालीले जित हासिल गरेका छन् । कप्तान अलेक्जेन्ड्रा पपको उच्च प्रदर्शनमा जर्मनीले अफ्रिकी राष्ट्र मोरोक्कोमाथि ६–० गोलअन्तरको सानदार जित निकाल्यो । जर्मनीको जितमा पपले दुई तथा क्लारा भुल र लिआ सुलले समान एक गोल गरे । जर्मनीले दुई गोल उपहार पाएको थियो ।

अष्ट्रेलियाको मेलवर्नस्थित मेलवर्न रेक्टेङगुलर स्टेडियममा गोल वर्षा भएको खेलको ११औं मिनेटमा कप्तान पपको गोलबाट जर्मनीले गोलको खाता खोल्यो । उनले काथरिन जुलिया हेन्डरिचको पासमा गोल गर्न सफल भएकी थिइन् । खेलको ३९औं मिनेटमा पपले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै जर्मनीलाई पहिलो हाफमा २–० को अग्रता दिलाइन् । यसपटक उनले क्लार भुलको पास गोल गर्न सफल भएकी थिइन् ।

४६औं मिनेटमा क्लाराले गोल गरेपछि जर्मनी खेलमा ३–० ले अघि बढ्यो । उनले जुल ब्रान्डको पासलाई सदुपयोग गरेकी थिइन् । ५४औं मिनेटमा हानानीले एइट इल हाजले आत्मघाती गोल गरेपछि जर्मनीदेलमा ४–० को फराकिलो अग्रता लिन सफल भयो । ७९औं मिनेटमा मोराक्कोका यास्मिन म्राबेटले अर्काे आत्मघाती गोल गरेपछि जर्मन फराकिलो जिततर्फ अघि बढ्यो ।

जर्मनी यतिमै रोकिएन । ९०औं मिनेटमा लिआले गोल गर्दै जर्मनीलाई ६–० को फराकिलो जित दिलाइन् । दुई पटकको च्याम्पियन तथा दुई पटककै उपविजेता जर्मनीविरुद्ध मोरोक्कोले कुनै पनि समय गतिलो आक्रमण बुन्न सकेन । जर्मनीले खेलमा ७४ प्रतिशत बल पोसेसन राख्दै दवाब बढाउँदा मोरोक्को आफ्नै हाफमा निकै व्यस्त बन्यो । यस जितसँगै जर्मनीले समूह ‘एच’ मा तीन अंक जोडेको छ । मोरोक्कोले हार बेहोर्दा यो समुहमा कोलम्बिया र दक्षिण कोरियाले खेल्न बाँकी छ ।

अर्जेन्टिना पराजित

इटालीले अर्जेन्टिनालाई १–० गोलअन्तरले पराजित गरेको हो । इटालीको जितमा खेलको अन्तिम समयमा क्रिष्टिएना जिरेलीले गरेको गोल नै निर्णायक बन्यो । उनले बराबरीतर्फ धकेलिएको खेलको ८७औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् । न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर खेर फाले ।

तर, खेलको अन्तिम समयमा क्रिष्टिएनाले गोल गर्दै इटालीलाई जित दिलाएर तीन अंक दिलाइन् । यस जितसँगै समूह ‘जी’ मा इटालीले तीन अंक बटुलेको छ । समान तीन अंक नै रहेपनि स्वीडेन गोल अन्तरमा शीर्षस्थानमा छ । यो समूहमा दक्षिण अफ्रिका र अर्जेन्टिनाले अंकको खाता खोल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्