आफ्नो एजेन्डामा अडिग महामन्त्री थापा र शर्मा

‘मिसन २०८४’ को योजना अहिले जरुरी छैन – महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पार्टी बैठकमा आफ्ना एजेन्डामा अडिग देखिनुभएको छ । केन्द्रीय समिति बैठकमा नेताहरूले पार्टीको एजेन्डाभन्दा पनि आफूअनुकूल वा प्रतिकूल मानिएका कुनै न कुनै नेताको पक्ष र विपक्षमा रहेर धारणा राखे पनि महामन्त्रीद्वय थापा र शर्मा आफ्ना एजेन्डा संस्थागत बनाउनेतर्फ केन्द्रित हुनुभएको हो ।

महामन्त्री थापाले केन्द्रीय कार्यसमिति बैठकमा सुशासनसम्बन्धी १३ पृष्ठ लामो लिखित प्रस्ताव पेस गर्दै पार्टीका कुनै नेतालाई फौजदारी अभियोग लागे निलम्बन गर्नुपर्ने प्रस्ताव राख्नुभयो । उहाँले बैठकमा भन्नुभयो– ‘कुनै पनि व्यक्तिमाथि फौजदारी अभियोग लाग्छ भने पार्टीसँग अलग राख्नुपर्छ, त्यस्तो अवस्था हुन्न भने निलम्बन गर्नुपर्छ ।’ उहाँले कांग्रेस संसदीय दलको नेता बदल्ने अभियान जारी रहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो–‘संसदीय दलको नेता बदल्न लागेको छु, नसके चुप लागेर स्वीकार्छु ।’

सोमबार बैठकमा बोल्ने क्रममा पार्टी सभापति शेरबहादुर देउवा पक्षका प्रतिनिधिसभा सदस्य तथा केन्द्रीय सदस्यहरूले महामन्त्री थापालाई नेतृत्वको आलोचना नगर्न दिएको सुझावमा उहाँले संसदीय दलको नेता फेर्न किन लागेको भन्ने प्रश्न नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘मैले पार्टी फुटाउने कुरा गरेको हो र ? मैले त दलको नेता फेर्ने कुरा गरेको हो । म बदल्न लागिरहेको छु ।’ सभापति तथा दलका नेता देउवालाई संसदीय दलको नेता फेर्ने कुरा नौलो नरहे पनि उहाँ निकट नेताहरूले भने प्रश्न गर्न लागेको थापाको टिप्पणी थियो ।

त्यस्तै, अर्का महामन्त्री शर्माले राजनीतिक दलहरूले चुनावको मात्रै चिन्ता नगरी देश र जनताको चिन्ता गर्नुपर्ने धारणा राख्नु भयो । उहाँले पार्टी रूपान्तरणको आफ्नो एजेन्डालाई निरन्तरता दिने पनि बताउनुभयो ।

‘मिसन २०८४’ को योजना अहिले जरुरी छैन – महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूले चुनावको मात्रै चिन्ता गर्न नहुने बताउनुभएको छ । केन्द्रीय कार्यसमिति बैठकमा उठेका विषयमाथि सोमबार जवाफ दिँदै महामन्त्री शर्माले अन्य राजनीतिक दलहरूले देशको चिन्ता गर्नु पर्नेमा चुनावको चिन्ता गरेर ‘मिसन २०८४’ को योजना बनाए पनि कांग्रेसले त्यो गर्न नहुने बताउनुभएको हो ।

कांग्रेसको बैठकमा मिसन ८४ को गम्भीरतापूर्वक छलफल भएको नभएको जिकिर गर्दै उहाँले बैठकले मिसन ८४ को घोषणा नगर्ने प्रष्ट पार्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गर्दै कतिपय दलले मिसन ०८४ को घोषणा गरे पनि २०८४ मा सामान्य निर्वाचन मात्रै हुने टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘२०४८ सालमा २००७ सालको जस्तो र ०४६ सालको जस्तो केही परिवर्तन हुन लागेको होइन ।’

राजनीतिक दलले चुनावको मात्र चिन्ता गर्न नहुने भन्दै उहाँले देशको र जनताको चिन्ता गर्नुपर्नेमा जोड दिँदै महामन्त्री शर्माले भन्नुभयो– ‘७४ मा चुनाव हुने ७९ को चिन्ता, अनि ७९ मा चुनाव हुने ८४ को चिन्ता, ८४ मा चुनाव भएपछि ८९ को चिन्ता, देशको चिन्ता कहिले गर्ने ? कांग्रेस यो विषयमा छ । कांग्रेसले मिसन ८४ घोषणा गर्नै परे पनि ८३ साल पुग्दै गर्दा घोषणा गरौंला ।’

बैठकमा उहाँले राजनीतिक रूपान्तरणका लागि बहिर्गमन नीतिको आवश्यकता रहेको औल्याउँदै दलहरूले यस्तो नीति बनाएको खण्डमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदहरू भइरहने प्रवृत्तिको अन्त्य हुने बताउनुभयो । राजनीतिमा उमेर नभइ एजेन्डा महत्वपूर्ण हुने भए पनि महत्वपूर्ण पदहरूमा भने बहिर्गमन नीति राख्न जरुरी देखिएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्