मानव अधिकार तथा शान्ति समाज सडकमा

0
Shares

बुटवल।

सङ्क्रमणकालीन न्याय सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता भएसँगै त्यसको विरोधमा मानव अधिकार तथा शान्ति समाजले बुटवलमा सडकमा उत्रिएको छ ।

त्यसक्रममा सहभागीहरुले हिंसालाई बढवा दिन पाइँदैन, हिंसालाई संस्थागत गर्न पाइँदैन, संशोधन विधेयक मानवअधिकार विरोधी विधेयक हो जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय निवर्तमान सभापति गोविन्द खनालले सङ्क्रमणकालीन न्याय जस्तो गम्भीर विषयमा कानुन संशोधन गर्न पीडित तथा अन्य सरोकारवालासँग छलफल नगरी अपारदर्शी रूपमा विधेयक संसदमा पेस गरेकोमा आपत्ति जनाउनु भयो । सङ्क्रमणकालीन न्याय सम्बन्धी विद्यमान कानुन संशोधनका लागि नेपाल सरकारले ल्याएको विधेयक त्रुटिपूर्ण रहेको भन्दै फिर्ता लिन माग गर्नु भयो ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले अहिलेकै अवस्थाको विधेयकले पीडितलाई पूर्ण रूपमा न्याय प्रदान नगर्ने र अन्तर्राष्ट्रिय कानुन अन्तर्गत नेपालको दायित्व पनि पूरा नहुने बताउनु भयो ।

शान्ति समाजका केन्द्रीय सदस्य डिपि खनालले विधेयकले कुनै पनि घटनामा दण्ड नगर्ने जस्तो मनसाय देखिएको भन्दै यसबाट पीडकलाई उन्मुक्ति दिलाउने सरकारको सोच रहेको स्पष्ट हुने बताउनु भयो ।

विरोध प्रदर्शनमा प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, नेपाल प्रेस युनियन रुपन्देहीका सभापति कविन्द्र नेपाल लगायतले संशोधित विधेयकका विरुद्ध शान्ति समाजको खवरदारीप्रति ऐक्यबद्धता जनाएका थिए । समाजका रुपन्देही अध्यक्ष कृष्णप्रसाद भट्टराईले सरकारले ल्याएको यो विधेयक स्विकार्न नसकिने बताउनु भयो ।