धुलिखेलमा औषधी पसलको अनुगमन



काभ्रे। 

जिल्लाको सदरमुकामस्थित धुलिखेल अस्पताल परिसरमा रहेका औषधी पसलमा अनुगमन गरिएको छ । औषधी पसलमा लाइसेन्स प्राप्त ब्यक्तिका नाममा फर्म दर्ता गरेर अन्य ब्यक्तिले औषधी विक्री गरेको, म्याद नाघेका औषधी विक्री वितरण गरिरहेको, मूल्य धेरै लिएका गुनासो प्राप्त हुने गरेको थियो ।

औषधी व्यवस्था विभागबाट प्राप्त अनुमति लिएर औषधी पसल सञ्चालन गर्नु पर्ने तथा औषधी विक्री गर्न सोही  विषय अध्ययन गरेको ब्यक्तिले लाइसेन्स लिनु पर्ने कानुनी व्यवस्था रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाईले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको नेतृत्वमा अनुगमन गरिएका औषधी पसलहरुमा पनि त्यस्तै कैफियत देखिएको थियो ।

प्रशासनले आवश्यक कागजात सहित प्रशासनमा उपस्थित हुन निर्देशन दिएको डा. सेढाईले बताउनुभयो । धुलिखेल अस्पताल क्षेत्र भित्र रहेका नीजि औषधी पसलहरु विजु फार्मेसी, बलराम फार्मेसी, अच्युतम फार्मेसी, रतनकाजी फार्मेसी, माँ कालिञ्चोक मेडिकल हल, निरु फार्मेसी र आरोग्य मेडिकलमा अनुगमन गरिएको थियो ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, डा.पुरुषोतमराज सेढाई, डा.दिपक ढकाल, हरिप्रसाद अधिकारी, जिल्ला प्रशासन कार्यालय काभ्रेका अधिकृत परशुराम थापा, धुलिखेल अस्पतालका हिरामान शंखदेव, स्वास्थ्य कार्यालय काभ्रेका हरिप्रसाद अधिकारी लगायतको सहभागिता रहेको थियो । जिल्लाका अन्य औषधी पसलहरुको पनि नियमित अनुगमन गरिने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्