आज यी जिल्लाका नदी खोलामा बहाव बढ्न सक्ने



काठमाडौं । केही दिनदेखि रोकिएको भारी वर्षा हुने क्रम आजदेखि पुनः सुरू भएको छ ।

आज दिउँसो र राति कोशी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान् छ ।

भारी वर्षाका कारण विभिन्न जिल्ला भएर बहने नदी तथा खोलाहरूमा जलसतह बढ्ने बाढी पूर्वानुमान् महाशाखाको आकलन छ ।

‍महाशाखाका अनुसार इलाम, झापा, सप्तरी, पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, काठमाडौं उपत्यका, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, बाग्लुङ, पाल्पा, रोल्पा, दैलेख, जाजरकोट,  बाजुरा, बझाङ, दार्चुला, अछाम, डोटी, कैलाली, बैतडी, डडेलधुरा र आसपास भइ बहने स-साना नदीहरूमा बहाव बढ्न सक्नेछ ।

आज बिहानको मापन अनुसार कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाब सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको महाशाखाले जनाएको छ ।

आज बिहान सप्तरीको फत्तेपुर आसपास र इलामको बारपल्याङ आसपासका क्षेत्रमा भारी वर्षाको मापन भएको थियो ।

मध्यम र भारी वर्षाका कारण स-साना नदी र खोलाहरूको बहाब बढ्न सक्ने हुँदा तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्