एमाले बलियो बनाउनु मुलुकको आवश्यकता

0
Shares

हेटौंडा ।

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले नेपाली राजनीतिमा निर्णायक तथा आदर्श पार्टी निर्माण गर्ने अभियानमा रहेको बताउनुभएको छ ।

नेकपा एमाले मकवानपुरद्वारा ४५ औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा नेता अधिकारीले नेकपा एमाले बलियो हुनु कम्युनिष्ट आन्दोलनलाई मात्र होइन, मुलुककै आवश्यकता भएको बताउनुभयो । उहाँले समाजवादमा पुग्नका लागि संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्दै राष्ट्रियता, विकास र समृद्धिका लागि मुलुकमा नेकपा एमालेको नेतृत्वबिना सम्भव नहुने दाबी गर्नुभयो ।

नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदानबारे चर्चा गर्दै पार्टी स्थापना गर्नु, पार्टी निर्माणमा वैचारिक आधार खडा गर्नु र लोकतन्त्रका लागि संयुक्त जनआन्दोलनको प्रस्ताव महत्वपूर्ण रहेको बताउँदै नेता अधिकारीले संयुक्त जनआन्दोलनको प्रस्तावलाई नेपाली कांग्रेसले नटेर्दा मुलुकमा २०१७ सालको निरंकुश शासन आएको तर पुष्पलालले राखेको प्रस्ताव स्वीकार गर्दा २०४६ र २०६२/०६३ सालको जनआन्दोलन सफल भइ लोकतन्त्र र गणतन्त्र ल्याउन सफल भएको बताउनुभयो ।

कार्यक्रममा पोलिटव्युरो सदस्य तथा मकवानपुर इञ्चार्ज देवी ज्ञवालीले दुःख, कष्ट र संकटमा जो टिक्न सक्छ, त्यही नेता हुने पुष्पलालबाट सिक्नुपर्ने बताउनुभयो । उहाँले मकवानपुर जिल्लामा नेकपा एमालेलाई बलियो पार्टी बनाउने र पहिलो बन्ने दाबी गर्नुभयो ।

केन्द्रीय सदस्य रामेश्वर रानाले पुष्पलालले युवावस्थामा विचार, संगठन र संघर्ष कम्युनिष्ट आन्दोलनमा विशेष योगदान रहेको भन्दै क्रान्तिको शत्रु र मित्र छुट्याएर सही वर्ग विश्लेषण गर्ने एमाले पुष्पलालको विरासत भएको बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुर सदस्य दिलबहादुर दोर्जेपाख्रिन, गंगा भट्टराई, नेकपा (एकीकृत समाजवादी) का जिल्ला सचिवालय सदस्य नारायण तिमल्सिना, राजप्रकाश भण्डारी, भरत लामिछाने, राजेश्वर दाहाल, जानुका सञ्जेल, विष्णुमाया सापकोटा, गोबिन्द देबकोटा, बकैया गाउ“पालिका कमिटी सदस्य कृष्णबहादुर भोलनलगायत एमालेमा प्रवेश गर्नुभएको जिल्ला कमिटी सचिव नवीन सिग्देलले जानकारी दिनुभयो ।

कार्यक्रममा पाख्रिनले हिजो नौलो जनवाद, समाजवाद भन्दै कुर्सीलाई प्राथमिकता दिएको र माओवादी पार्टीमा विचलन भएकाले व्यक्तिवाद हावी भएको, जनता र मुलुकको भविष्य नरहेको बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) जिल्ला सचिवालय सदस्य तिमल्सिनाले पार्टी विभाजन हुनु नेतृत्वको गल्ती भएको र मुहान सफा हुनुपर्ने बताउनुभयो । माओवादी केन्द्रबाट पार्टी प्रवेश गर्नुभएका भट्टराईले गणतन्त्र आइसकेपछि माओवादी केन्द्रले मुलुकलाई अगाडि बढाउनसक्छ भन्ने विश्वास हटेको बताउ“दै एमालेप्रति विश्वास भएकाले प्रवेश गरेको बताउनुभयो ।

पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य रामेश्वर राना, कृष्णप्रसाद दाहाल, केन्द्रीय निर्वाचन कमिटी सदस्य अनन्त पौडेललगायतले मन्तव्य राख्नुभएको थियो।