कांग्रेस बैठकमा समाजवादी मोर्चाको विरोध

0
Shares

काठमाडौँ।

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा चार कम्युनिष्ट पार्टीहरु मिलेर बनाएको समाजवादी मोर्चाको विरोध भएको छ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सत्ता गठबन्धनमा रहेका कम्युनिष्ट पार्टीहरुले बनाएको समाजवादी मोर्चाको विरोध जनाउनुभएकोे हो ।

पार्टीको केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्नेक्रममा नेता कोइरालाले समाजवादी मोर्चाका विषयमा पार्टीभीत्र छलफल हुनु पर्ने बताउनुभयो । सत्ता गठबन्धनमा आबद्ध दलहरुले मोर्चाका नाममा अर्को गठबन्धन बनाएर कसका विरुद्द प्रयोग गर्न खोजेको भन्ने प्रश्न गर्नुभयो । पार्टीको केन्द्रीय समिति बैठकमा कोइरालाले समाजवादी मोर्चाको निर्माण कसका विरुद्ध भएको हो भन्ने विषयमा आवश्यक छलफल गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘गठबन्धनमा सामेल दलहरुले कसका विरुद्ध समाजवादी मोर्चा निर्माण गर्नुभएको हो ? यस विषयमा कांग्रेस पार्टीले आवश्यक छलफल गर्नुपर्छ । एउटै गठबन्धनमा भएका दलहरुले छुट्टै मोर्चा बनाउन थालेपछि त्यसले सकारात्मक सन्देश जाँदैन् ।’ सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले विप्लव समूहलाई समेत समेटेर समाजवादी मोर्चा बनाएका छन् ।

बैठकमा डा.कोइरालाले भ्रष्टाचार र सुशासन अलग विषय भएको भन्दै भ्रष्टाचार नियन्त्रण र सुशासन दिने कुरामा नागरिकलाई विस्वस्त पार्न नसके जनताका घरमा भोट माग्न नजाँदा हुने समेत बताउनुभयो । यस्तै सरकारले ल्याएको नेपाल ऐन संशोधन गर्ने विधेयक तत्काल खारेज गर्नुपर्ने उहाँको माग छ ।

कोइरालाले राजनीतिक दल वा समूहका नाममा जस्तासुकै अपराधीलाई पनि उन्मुक्ति दिने कुरा कांग्रेसको मूल्य मान्यताविपरीत भएकाले उक्त विधेयक खारेज गर्नुपर्ने बताउनसुभयो । कोइरालाले भन्नुभयो– ‘नीतिगत रुपमै कानुन बनाएर दण्डहीनतालाई प्रश्रय गर्न लागेका छौं । यो विधेयक तत्काल खारेज गरिनुपर्छ । यो विधेयक संसदबाट पारित भयो भने दण्डहीनताले संस्थागत रुप लिनेछ ।’