एक वर्षमा ४७६ दुर्घटना, १६६ को मृत्यु



पोखरा । आर्थिक वर्ष २०७८÷२०७९ मा गण्डकी प्रदेशमा सवारी दुर्घटनामा परी १६६ जनाको मृत्यु, ३९० जना गम्भीर घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीको तथ्यांक अनुसार गण्डकीमा ६ वर्ष यता दुर्घटना र मानिस मृत्युमा कमी आएको हो ।

यो एक वर्षमा ४६७ सवारी दुर्घटना हुँदा १६६ मत्यु, ३९० गम्भीर घाइते भएका थिए । मृत्यु हुनेमा सबैभन्दा बढी पुरुषको संख्या रहेको छ । एक वर्षमा ११६ पुरुष, ३६ महिला, ११ बालक र ३ बालिका रहेका छन् । जुन ६ वर्षयताकै कम हो । ट्राफिक प्रहरीको विभिन्न सचेतनामूलक कार्यक्रमका कारण दुर्घटनामा कमी आएको बताइएको छ ।

विगत ६ वर्षको तथ्यांकअनुसार २०७४ सालमा ५६२ दुर्घटना हुँदा २८४ जनाले ज्यान गुमाएका थिए । २०७५ मा ६५३ दुर्घटना हुँदा २५८ को मृत्यु, २०७६ मा ५९६ दुर्घटना हुँदा २२३ को मृत्यु, २०७७ मा ५४३ दुर्घटनामा २२१ मृत्यु र २०७८ मा ५३५ दुर्घटना हुँदा २५५ को मृत्यु भएको थियो ।

यी ६ वर्षको तथ्यांकले सवारी दुर्घटनाका मुख्य कारण चालक लापरबाही देखिएको छ । आर्थिक वर्ष २०७९ मा मात्रै चालक लापरबाहीका कारण २८८ दुर्घटना भएका छन् । सवारी साधनका कारण ३२, यात्रुका कारण २५ र सडकका कारण २६ दुर्घटना भएको तथ्यांकमा उल्लेख छ ।

आ.व. २०७९ मा दुर्घटना र मानिस मृत्यु दरमा कमी आएको ट्राफिक प्रहरी कार्यालय गण्डकीका प्रवक्ता इन्द्र सुवेदीले जानकारी दिनुभयो । ट्राफिकले वर्षभर नै सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम चलाउँदै आइरहेको उहाँले बताउनुभयो ।

१७ करोड ५६ लाख राजस्व संकलन

यस्तै, गण्डकी प्रदेशमा आर्थिक वर्ष ०७९÷८० मा १७ करोड ५६ लाख ९७ हजार पाँच सय रुपियाँ राजस्व संकलन गरिएको छ ।
प्रदेशका ११ जिल्लामै सवारी चेकजाँचमा कडाइसँगै कारबाहीलाई अधिक एकरूपता कायम गर्दा राजस्वमा वृद्धि भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्