अस्ताए एक प्राजातान्त्रिक हस्ती, जसकाे जीवन समाजका लागि समर्पित थियाे 



काठमाडौं ।  प्रजातन्त्र स्थापनाकालसँगै आफूलाई सामाजिक, राजनीतिक यात्रामा समर्पित गराउनुभएका एक प्रजातान्त्रिक हस्ती पिताम्बर दाहालकाे निधन भएकाे छ ।  दुर्गम पूर्वी पहाडी जिल्ला ओखलढुंगाको विगुटारमा १९९४ मंसिर १२ मा जन्मनुभएका कांग्रेस नेता दाहालकाे ८६ वर्षकाे उमेरमा गत साेमबार निधन भएकाे हाे ।
शिक्षा र चेतनाको अभाव झेलेको दुर्गम भुगोल विगुटारको शैक्षिक उन्नयन, सामाजिक राजनीतिक चेतनाको दियो जगाउने दाहालको दुखःद निधनले ओखलढुंगा र  विशेषगरी विगुटारबासीले एक असल सामाजिक व्यक्ति गुमाएकाेमा शाेकमा छन् । साबिक राँगादीप विद्यालयमा शिक्षण पेशामा लाग्नुभएका दाहाल तत्कालिन पञ्चायती राजनीतिमा परिवर्तनको पक्षधरभई बहुदलीय व्यवस्थाको पक्षमा सक्रिय हुनुहुन्थ्यो । उहाँ एउटा दलकाे सदस्य भएपनि समाजमा दलभन्दा माथि उठेर नागरिककाे काममा सहयाेग गर्ने व्यक्तिका रुपमा आफूहरुले चिनेकाे ओखलढुंगास्थित उहाँका दाैतेरीहरु बताउँछन् ।
२०३६ सालको बहुदल वा निर्दल भन्ने जनमत संग्रहको समयमा बहुदलका पक्षमा लाग्नुभएको उहाँ पटक–पटक गिरफ्तार हुनुभएकाे थियाे । त्यसयता दाहाल नेपाली कांग्रेसमा सक्रिय भई काम राजनीतिक गतिविधिमा लाग्नुभएको थियो । राजनीतिमा लागेर दाहालले नेपाली कांग्रेस ओखलढुंगा जिल्ला कार्यसमिति सदस्य र जिल्ला विकास समितिको कार्यबाहक सभापति समेतको जिम्मेवारी सम्हाल्नुभयो भने इलाका नम्बर ५ बाट इलाका सदस्य समेत हुनुहुन्थ्यो ।
गत सोमबार निधन हुनुभएका दाहालको पार्थिव शरिरमा संघीय सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा, कोशी प्रदेश कार्यसम्पादन समिति सदस्य कुमार लुइटेल, नेपाल ट्रेडयुनियन कांग्रेसका पूर्व अध्यक्ष खिलानाथ दाहाल, युवा नेता रुद्र अधिकारी, जिल्ला सचिव अजय लुईटेललगायत नेताहरुले नेपाली कांग्रेसको झण्डा ओढाएर श्रद्दाञ्जली अर्पण गर्नुभयो । दुर्गम पहाडी जिल्ला ओलढुंगाको विगुटार, रागाँदीप र जन्तरखानी, बरुणेश्वर लगायतका भुभागमा शैक्षिक र सामाजिक उन्नयनका लागी उहाँको योगदान रहेको ओखलढुंगाबासीले चर्चा गर्ने गरेका छन् । त्यस्तै उहाँले २०६६ देखि काठमाण्डौको कपनमा रहेर विभिन्न सामाजिक कार्यमा संलग्न हुनुभएको थियो ।
टोल विकास समिति, उपभोक्ता समिति, महिलाउत्थान र सीप तथा क्षमता विकासलगायत साना तिना इकाईहरुमा सल्लाहाकारको रुपमा रहेर अनुभव प्रदान गर्दै सामाजिक जीवन विताउदै आउँनुभएका दाहाल केही महिनादेखि अस्वस्थ हुनुहुन्थ्यो ।  उहाँको निधनपछि श्रद्दाञ्जली दिनेहरुको बाक्लो उपस्थिति रहेको छ । यसै क्रममा नेपाली कांग्रेस ओखलढुंगाले दाहालको निधनप्रति दुख व्यक्त गर्दै पारिवारीक सदस्यहरुलाई समवेदना प्रकट गरेको छ ।
पार्टी सभापति तेजेन्द्र खनाल, ओखलढुंगा-काठमाडौं सम्पर्क समितिका सभापति खिलानाथ लुईटेलसहित कांग्रेस नेताहरुले शोकमा रहेका दाहाल परिवारलाई भेटेर समवेदना पत्र प्रदान गर्नुभएको हो । उहाँले पद र प्रतिष्ठा भन्दा पनि इमान्दारीता र नैतिकताको राजनीतिमा जिवन शमर्पण पर्ने एक लोकतान्त्रिक अभियान्ताका रुपमा पहिचान बनाउनुभएको थियाे । कसैप्रति बैरभाव नराखि सादा जिवन विताउनुभएका स्व. पिताम्बर दाहालका दुई छोरा र पाँच छोरी गरी सात सन्तान छन् ।

प्रतिक्रिया दिनुहोस्