माउण्टमा नवआगन्तुक विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण



म्याग्दी ।

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित रहेको माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयमा आज (बिहीबार) विद्यार्थी स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजनामा एक समारोहबीच कक्षा ११ अध्ययन गर्नका लागि आएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण गर्दै विद्यालयका अध्यक्ष प्रमोद श्रेष्ठले रुचि र क्षमताको आधारमा विषय छनोट गर्न सुझाव दिनुभएको छ । उहाँले विद्यालयको तर्फदेखि शैक्षिक गुणस्तर वृद्धि गर्नुका साथै विभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गरी विद्यार्थीहरुलाई उत्प्रेरणा र प्रोत्साहनमा जोड दिइने बताउनुभयो ।

सोही कार्यक्रममा विद्यालयका शैक्षिक निर्देशक राजु केसीले गुणस्तरीय शिक्षासँगै संंस्कारसहितको सिपमूलक शिक्षा आजको आवश्यकता भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले बालबालिकाहरुलाई अभिभावकको दबाबमा भन्दा पनि उनीहरु आफूले क्षमता र रुचिको आधारमा विषय छनोट गर्दा सिकाई प्रक्रियामा सकारात्मक प्रभाव पर्ने भएकाले त्यसतर्फ ध्यान दिन अभिभावकहरुलाई आग्रह गर्नुभयो ।

विद्यार्थी स्वागत तथा अभिमुखीकरण कार्यक्रमको विद्यालयका अध्यक्ष श्रेष्ठले अध्यक्षता गर्नुभएको थियो भने विद्यालयको आर्थिक निर्देशक रमेश गिरी र संस्थापक सुविन श्रेष्ठको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन एवं सञ्चालन +२ को–अर्डिनेटर रामप्रसाद सुवेदीले गर्नुभएको थियो ।
जिल्लाको शैक्षिक धरोहरको रुपमा स्थापित यस विद्यालयले कक्षा ११ अध्ययन गर्नका लागि बेनी नगरपालिका–५, पुलाचौर र ९ नम्बर वडा नेप्टे चौरसम्म बसको सुविधा उपलब्ध गराउने भएको छ भने ट्राभल र टुरिजमको विषयमा समेत अध्ययन÷अध्यापन गराइने विद्यालयका शैक्षिक निर्देशक केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्