गिरीबन्धु टि–स्टेट मा एकजना शेयर धनीले हाली–मुहाली गरेको भन्दै अन्य शेयर धनीहरु कानुनी बाटोमा

0
Shares

भद्रपुर । 

 झापाको बिर्तामोड नगरपालिकामा रहेको ‘गिरीबन्धु टि–स्टेट’ मा एकजना शेयर होल्डर छत्रबहादुर गिरीले हाली–मुहाली गरेपछि अन्य शेयर होल्डरले कानुनी बाटो रोजेका छन् । उनले एकलौटी रूपमा जमिन बिक्री गर्ने भन्दै करोडौँ रकम सङ्कलन गरेकोप्रति अरू साझेदारले आपत्ति जनाएका हुन् ।

२०२० सालमा स्थापित गिरीबन्धु टि–स्टेटमा छत्रबहादुर गिरी २५ प्रतिशत साझेदार हुन् । त्यतिबेलादेखि नै अन्य साझेदारको कम्पनीमा ७५ प्रतिशत हिस्सा छ । छत्रबहादुरले अन्य साझेदारले पाउने हिस्सा नदिई एकलौटी रूपमा जमिन दिने भन्दै झापादेखि काठमाडौँसम्मका व्यवसायीसँग करोडौँ रकम उठाएको आरोप उनीहरूले लगाएका छन् ।

केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा गिरीबन्धु टि–स्टेटको जमिन बिक्री गर्नका लागि भूमिसुधार ऐन १८ औं संशोधन गरिएको थियो । २०७८ असार २४ गते ओली क्याबिनेटको बैठकले फाष्ट ट्रयाकमा गिरीबन्धुको जमिन बिक्री गरेर झापाको पृथ्वीनगरमा चिया बगान स्थानान्तरण गर्न दिने निर्णय गरेको थियो ।
ओली क्याबिनेटको सोही निर्णयको जगमा टेकेर छत्रबहादुरले व्यवसायीलाई जमिन दिने भन्दै रकम उठाउन थालेका हुन् । छत्रबहादुर गिरीले व्यवसायीसँग करोडौँ रकम उठाएको अर्का साझेदार कृष्णकुमार गिरीका छोरा नवीन गिरीले बताउँनुभयो । छत्रबहादुरले २५ देखि ३० करोडको हाराहारीमा रकम उठाएको उनको अनुमान छ ।

‘हामीलाई थाहा नै छैन, छत्र काकाले बजारमा करोडौँ रकम उठाउँदै हुनुहुन्छ अरे’ गिरीले भन्नुभयो , ‘२५ देखि २७ प्रतिशत शेयर भएको कम्पनीको शेयर होल्डरले १ सय प्रतिशत नै मेरो हो भनेर भ्रम छरिरहनुभएको छ । तर, हामीले त्यो जमिन खरिद गर्ने नाममा कोही पनि नफसून् भनेर सत्य कुरा सार्वजनिक गरेका हौं ।’

गिरीबन्धु टि–स्टेटको २०४० सालमा भएको विशेष साधारण सभाले भगवान गिरी, प्रेमकुमार गिरी र कृष्णकुमार गिरीलाई कम्पनीको हिस्साका रूपमा राजमार्गको उत्तरपट्टि १ सय २ बिगाह जमिन दिने निर्णय गरेको थियो । त्यसबेला चल अचल सम्पत्तिको मूल्याङ्कन गरेर २३ लाख ५१ हजार रुपैयाँ छत्रबहादुर गिरीले भगवान, प्रेमकुमार र कृष्णकुमार गिरीलाई दिने सहमति भएको थियो । सो सहमतिअनुसार छत्रबहादुरले १० लाख रुपैयाँमात्र दिएको नवीन गिरीले उपलब्ध गराएको कागजपत्रमा उल्लेख छ ।

बाँकी रकम १३ लाख ५१ हजार रुपैयाँ र कम्पनीको हिस्सा १ सय २ बिगाह जमिन आफूले पाउनुपर्ने मागसहित असन्तुष्ट गिरी परिवारले छत्रबहादुरलाई प्रतिवादी बनाउँदै २०७८ सालमा ‘कीर्ते जालसाज’ र ‘दूषित कित्ता नक्सा एकीकृत निर्णय, दर्ता बदर, दर्ता कायम, चलन’ मुद्दा दर्ता गराएको थियो । सो मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ । यसैगरी २०७९ साल असोजमा कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘आवश्यक छानबिन गरी कम्पनीको हिसाब किताब गरी शेयरसमेत अद्यावधिक गरी पाऊँ’ भन्दै पीडित पक्षले निवेदन गरेको थियो ।

छत्रबहादुरले २०७८ चैतमा पीडितको माग दाबीअनुसारको जमिन छुट्याउन बाँकी रहेको प्रत्युत्तर अदालतमा फर्काएका थिए । सो प्रत्युत्तरमा उनले विशेष साधारण सभाले गिरीबन्धु टि–स्टेट प्रालिको नाममा दर्ता कायम रहेको राजमार्ग उत्तर–पूर्वतर्फबाट १ सय २ बिगाह जमिन फिर्ता गर्न तयार नै रहेको स्वीकारेका छन् । सो जमिनमा भएको चिया बगान वादीसमेतका हिस्सेदारहरूले भोग गरिरहेको कुरा छत्रबहादुरले स्वीकार गरी रीतपूर्वक आएमा जमिन राजीनामा पास गरिदिने अदालतलाई जानकारी गराएका थिए ।

‘कम्पनी स्थापना हुँदाका समयमा छत्र काका ९ वर्षको हुनुहुन्थ्यो, यतिबेला उहाँ ७० वर्ष पुग्नुभयो’ नवीनले भन्नुभयो , ‘यतिबेला आएर उहाँ कम्पनीको स्वामित्व एकलौटी बनाउने योजनामा हुनुहुन्छ, त्यसका विरुद्ध हामी कानुनी लडाइँमा छौँ ।’

पीडितहरूको निवेदन उपर कारबाही गर्दै कम्पनी रजिष्ट्रारको कार्यालयले २०७९ फागुनमा ६ बुँदे आदेश गरेको थियो । त्यो निर्देशनलाई पनि छत्रबहादुरले पालना नगरेको पीडितहरूको आरोप छ । २०४० साल कात्तिक १७ को विशेष साधारणसभाको निर्णयसम्बन्धी सक्कल कागजात, साधारणसभाको निर्णयबमोजिम भगवान, प्रेमकुमार र कृष्णकुमार गिरीले आफ्नो स्वामित्वको शेयर बिक्री हस्तान्तरण गरेको भए सो सम्बन्धी लिखत कागजातहरू उजुरीकर्ताहरूको नाममा जग्गा हक हस्तान्तरण भए/नभएको जवाफसहित सो सम्बन्धी लिखत कागजात, उजुरीकर्ताहरूको नामको शेयर के कुन आधारबाट राइट अफ शेयर भएको हो ? सो सम्बन्धी कानुनी आधार प्रमाणसहितका कागजातहरू र कम्पनी दर्ता हुँदाका बखतको सुरु शेयर लागतको विवरण र सञ्चालक समितिको निर्णय र कम्पनीका कागजातहरू हालसम्मको अद्यावधिक बिवरण, लेखा परीक्षण प्रतिवेदन तथा कम्पनीबाट भएका हालसम्मका निर्णयहरूको लिखत कागजात बुझाउन कम्पनी रजिष्ट्रारको कार्यालयले आदेश गरेको थियो ।

छत्रबहादुरले कम्पनी घाटामा गएको भन्दै विगत ८ वर्षदेखि चालु अवस्थामा रहेको उद्योग बन्द गराएका थिए । त्यस स्थानमा उत्पादित हरियो पत्ती आफ्नो छोराको स्वामित्वमा रहेको ‘शमशेर एण्ड गङ्गादेवी टि कम्पनी’ मा लगेर प्रशोधन गर्दै एकलौटी बिक्री गरिरहेको आरोप पीडित पक्षको छ ।
गिरीबन्धु टि–स्टेटमा छत्रबहादुरसहित प्रेमकुमार, कृष्णकुमार, त्रिलोचन (नन्दकिशोर), श्याम, प्रशान्त, राजेश, भरतलाल र रमेश गिरी शेयर होल्डर छन् । तर, सामाजिक रूपमा छत्रबहादुरले गिरीबन्धु टि–स्टेटलाई एकलौटीजस्तै बनाएका छन् ।

पीडितले २०४० सालदेखि कम्पनीको आम्दानीसमेत खोजी गरेका छन् । उनीहरूले छत्रबहादुरले एकलौटी रूपमा आम्दानी चलाइरहेको बताएका छन् । पीडित परिवारले २०४० सालदेखि हालसम्म छत्रबहादुर गिरीले कम्पनीलाई पु¥याएको आर्थिक क्षति, हानि नोक्सानी र अन्य गैरकानूनी, अवैध निर्णयहरूका साथै कम्पनीको हित विपरीत गरेका सम्पूर्ण निर्णयहरू छानबिन गरी कानुनी उपचार अवलम्बन गर्न माग गरेको छ । हालसम्म भएको सम्पूर्ण क्षतिको क्षतिपूर्ति छत्रबहादुरको निजी सम्पत्ति, घरघरानाबाट असुलउपर गरिनुपर्ने माग उनीहरूले राखेका छन् ।