जनप्रतिनिधिमाथि जातीय विभेद गर्ने एक जना पक्राउ



कालिकोट। 

जुम्ला जिल्ला गुठीचौर गाउँ कार्यपालिकाकी सदस्य गोइतु कामीलाई जातीय विभेद गर्ने सोही गाउँपालिका–५ का ३७ वर्षीय केसी भण्डारीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

आरोपितले असार ३१ गते गुठीचौर गाउँपालिकाको प्राङ्गण भन्दा बाहिर रहेको हिमाली होटल अगाडिको मूल सडकमा जातीय विभेद गरेको पीडितको आरोप छ ।

गाउँ सभा कार्यक्रममा सहभागी भएर हिमाली होटलमा राखेको झोला लिन जाँदै गरेको अवस्थामा मादक पदार्थ सेवन गरी जातीय विभेद गरेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ’सार्वजनिक स्थानमा मलाई अवाञ्छित, अमर्यादित व्यवहार गर्नुको साथै अपराधिक मनसाय राखी ’दमिनि’ भनी अत्यन्त घृणा गरी अपमानजनक शब्द बोलेर गालीगलौज गरी जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुर अपराध गरेको हुँदा म न्यायिक निकाएका पुगेकी हुँ ।’

आरोपितलाई जातीय भेदभाव तथा छुवाछुतको कसुर र सजाय ऐन २०६८ बमोजिम हदैसम्म सजाय र जरिबानाको मागसहित पीडितले साउन २ गते जाहेरी दिएको प्रहरी निरीक्षक धर्मराज जोशीले बताउनुभयो ।

जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ अनुसार कसैले कसुर गरेमा कसुर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्