घ्याङलेख गाउँपालिका अबदेखि बिहान ८ बजे नै खुल्ने



सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकाले नेपाल सरकारले तोकेको भन्दा थप चार घण्टा अतिरिक्त सेवा प्रवाह गर्न सुरु गरेको छ । यस अघि विहान १० बजे देखि साँझ ५ बजे सम्म मात्रै सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले साउन देखि विहान दुई घण्टा र साँझ दुई घण्टा अतिरिक्त सेवा प्रवाह गर्न सुरु गरेको हो ।

गाउँपालिकाको विभिन्न वडाको टाढा र माथिल्लो लेकभेगका नागरिकको सहजताको लागि विहान ८ बजे नै कार्यालय खोली साँझ ७ बजे सम्म सेवा प्रवाह गर्न सुरु गरिएको घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले बताउनुभयो ।

‘गाउँपालिकाको आर्थिक बर्ष २०८०÷०८१ को निति तथा कार्यक्रममा उल्लेख भए अनुसार जनताको सहजता र सुविधाको लागि विहान ८ बजे देखि साँझ ७ बजे सम्म कार्यालय खोली सेवा प्रवाह गर्न थालिएको हो । ’ उपाध्यक्ष घलानले भन्नुभयो । घ्याङलेख गाउँपालिकाको माथिल्लो भेगमा सडक राम्रो नभएकाले विहान र बेलुका गरी दुई समय मात्रै निजी बोलेरो गाडीहरु संचालन हुदै आएका छन् ।

गाउँपालिकाको टाढा र लेक भेगका जनताहरु विहानै सोही बोलेरो गाडीमा आउनु पर्ने र साँझ चाडै फर्खनु पर्ने बाध्यतालाई मध्यनजर गरेर अतिरिक्त सेवा प्रवाह गर्न सुरु गरिएको उपाध्यक्ष घलानले बताउनुभयो । गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत, योजना शाखामा कार्यरत कर्मचारी, लेखा लगाएत आवश्यकता अनुसारका अन्य शाखाका कर्मचारीहरु विहान ८ बजे नै कार्यालयमा हाजिर भई साँझ ७ बजे सम्म सेवा प्रवाह गर्ने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत राम कुमार कार्कीले बताउनुभयो ।

‘स्थायी कर्मचारीहरुले नेपाल सरकारले तोकेकै तलब भत्तामा अतिरिक्त थप चार घण्टा सेवा दिनेछन् । विहान बेलुका काम गर्ने कार्यालय सहयोगीहरुलाई भने दिउँसो काममा आउनु नपर्ने भनेको छौं’ प्रमुख प्रशासकिय अधिकृत कार्कीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्