भद्रकुमारी सेवा सदनमा डोजर

भद्रकुमारी घले सदन नभत्काउन अदालतको आदेश



–ज्येष्ठ नागरिकलाई मानव सेवा आश्रम र विद्यार्थीलाई नजिकैको सरकारी विद्यालयमा पढाउने व्यवस्था
–घलेले नगर प्रहरीसँग बिलौना गर्दै भन्नुभयो– ‘बाबु मेरो सबै सामान सुरक्षित ल्याउनुस् है ।’

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित पूर्वमन्त्री भद्राकुमारी घलेको भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ । सार्वजनिक जग्गा कब्जा गरेर भद्रकुमारी घले सेवा सदन सञ्चालन भएको भन्दै कामपाले उक्त सेवा सदनमा डोजर चलाएको हो ।

५ रोपनी १२ आना क्षेत्रफल ओगटेको सो भवनभित्र ६ वटा घर छन् । बुधबार बिहानदेखि महानगरको डोजरले भवन भत्काउन शुरू गरेलगत्तै त्यहाँ बस्दै आएकाहरू सामान बोकेर बाहिरिएका थिए ।

कामपा प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले तीन दिनअघि घर खाली गर्न अल्टिमेटम दिए पनि घर खाली नगरेपछि महानगरले भत्काउन शुरू गरेको बताउनुभयो । पूर्वमन्त्री घलेले वि.सं. २०६२ सालबाट आश्रम सञ्चालन गर्नुभएको थियो । सो आश्रमभित्र विद्यालय सञ्चालित छ ।

सेवा सदनभित्र रहेको शिक्षा सदनमा १ सय ६० विद्यार्थी अध्ययनरत रहेको महानगर प्रहरीले जनाएको छ । तीमध्ये करिब ४७ जना विद्यार्थी होस्टलमा बस्ने गरेका थिए । ती विद्यार्थीको वासस्थानको विषयमा महानगरले छलफल गरिरहेको छ । महानगरले सार्वजनिक खाली गराउने क्रममा सो सेवा सदन भत्काएको हो ।

बुधवार १५ वटा सटर रहेको भूमिगत तला खाली गराइएको छ । त्यहाँ रहेका सबै सामान भद्रकुमारी घलेको डिल्लीबजारस्थित घरमा लैजाने तयारी गरिरहेको कामपा प्रहरी बल प्रमुख पाण्डेको भनाइ थियो । पूर्वमन्त्री घलेले फोनमा बिलौना गर्दै घले सेवा सदनका सामानहरू सुरक्षित रूपमा आफ्नो वासस्थानमा ल्याइदिन आग्रह गरेको जानकारी दिँदै पाण्डेले भन्नुभयो– ‘उहाँले बाबु मेरो आश्रम भत्काउनुभयो, त्यसको लागि घन्यवाद छ, मेरो आशीर्वाद लागोस् । सामानहरू घरमा सुरक्षित ल्याइदिनुस् है भन्नुभयो । उहाँले रिसले हो वा साँचो जे बोले पनि उहाँको सबै सामग्री हामीले उहाँको घरमा पु¥याउने निधो गरेका छौं ।’ उहाँका अनुसार १५ वठा कोठामा करिब ४ ट्रक सामान रहेका छन् । घलेले अति आवश्यकबाहेक सबै सामान छाड्नुभएको थियो । महानगरलाई सामान पु¥याउन आग्रह गरेकी पूर्वमन्त्री घलेले ती सामग्रीको व्यवस्थापन कहाँ गर्ने भन्ने विषयमा निधो भने भइनसकेको बताउनुभएको छ ।

कामपा सहरी व्यवस्थापन विभागको नक्साका आधारमा कामपाले उक्त सेवा सदन भत्काउन थालेको हो । वडा कार्यालयको सिफारिसपछि विभागले तयार गरेको फाइललाई कामपाका मेयर बालेन्द्र साहले स्वीकृत गर्नुभएको थियो ।

घले सेवा सदनभित्र एउटा गुम्बा, आश्रम र विद्यालय सञ्चालित छन् । घले सेवा सदनको आश्रममा रहेका सबै असहाय अशक्त वृद्धवृद्धाहरूलाई मानव सेवा आश्रममा लगिने कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

विद्यार्थीहरूको व्यवस्थापन महानगरको शिक्षा विभागले गर्ने तयारी भएको छ । करिब १ सय ६० जना विद्यार्थीलाई नजिकैको सरकारी विद्यालयमा भर्ना गर्नेगरी तयारी भइरहेको महानगरका शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘निजीमा पढाउन सक्दैनौं, पढ्न तयार भएका विद्यार्थीलाई सरकारीमा पढाउने तयारी भएको छ ।’ महानगरले घले सेवा सदनको विद्यालयमा पढेका सबै विद्यार्थीलाई माथिल्लो कक्षासम्म पढाउने तयारी गरेको छ ।

महानगरले उक्त क्षेत्र खाली गरेपछि सो क्षेत्रमा पार्क बनाउने तयारी गरेको भए तापनि अझै निश्चित भइसकेको छैन । प्रवक्ता मानन्धरले भन्नुभयो– ‘शुरूमा घर खाली गरांै । त्यसपछि कस्तो संरचना बनाउने हो भन्ने निर्णय गर्नेछौं ।’

कामपा–१० का वडा अध्यक्ष सुवोध खड्का, कामपाका प्रहरी प्रमुख पाण्डे, नक्सा विभागका कर्मचारीलगायतको उपस्थितिमा घले सेवा सदन भत्काइएको हो । कामपाले हिजो १५ वटा सटर भत्काएको छ । कामपाका प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार उक्त सेवा सदन भत्काउन करिब एक साता लाग्नेछ ।

भद्रकुमारी घले सदन नभत्काउन अदालतको आदेश

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

काठमाडौं महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनका केही संरचनामा बुधबार नै डोजर चलाएर भत्काएको थियो । बाँकी संरचना पनि भत्काउने तयारी गरिरहँदा अदालतको आदेश आएको हो । महानगरपालिकाको कदमविरुद्ध निषेधाज्ञाको आदेश माग गर्दै सदनका तर्फबाट दिएको निवेदनमाथि बुधवार सुनुवाइ गर्दै न्यायाधीश श्यामजी प्रधानको इजलासले संरचना नभत्काउन आदेश दिएको हो ।

अदालतले ८ साउनमा दुवै पक्षलाई छलफलमा बोलाएको छ । त्यसअघि सदनको घरजग्गामा क्षति पु¥याउने वा अतिक्रमण गर्ने काम नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्