कांग्रेस बैठकमा संस्थापन पक्ष आक्रामक, पार्टी महामन्त्रीद्वयको व्यापक आलोचना



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षका नेताहरू महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि आक्रमक बनेका छन् । मंगलबारबाट शुरू भएको बैठकमा धारणा राख्ने संस्थापन पक्षका केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूले महामन्त्रीद्वयमाथि अनुशासनको प्रश्न उठाउँदै खरो आलोचना गरेका छन् ।

बुधवार बोल्ने अधिकांश प्रदेश सभापति तथा केन्द्रीय सदस्यहरूले महामन्त्रीहरूको सार्वजनिक प्रस्तुति शैली र व्यवहारप्रति खरो रूपमा विरोध जनाए । विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तनको अभियान चलाउने सार्वजनिक अभिव्यक्ति दिँदै आएका महामन्त्री गगन थापाप्रति पार्टी सभापति शेरबहादुर देउवा निकटका नेताहरूले कटाक्ष नै गरेको केन्द्रीय सदस्यहरूले बताएका छन् ।

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले महामन्त्रीप्रति लक्षित गर्दै कार्यसमितिमा रहेका व्यक्तिहरूलाई अनुशासन लागु हुन्छ कि हुँदैन ? भनेर प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो– ‘एउटा केन्द्रीय सदस्य, पदाधिकारी र एउटा जिम्मेवारीमा रहेका मानिसले अर्को जिम्मेवारीमा रहेका मानिसहरूको विषयमा अभिव्यक्त गरेका धारणाहरू तथानाम छ जे पायो त्यही गरिएको छ ।’ थापाले केही समययता महामन्त्री पद त्याग्नु परे त्याग्छु भन्दै संसदीय दलमा नेतृत्व परिवर्तनका लागि निरन्तर आवाज उठाउने बताउँदै आउनुभएको छ । थापाको उक्त अभिव्यक्तिमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले सहमति जनाउँदै आउनुभएको छ ।

महामन्त्रीद्वय थापा र शर्माले पार्टी सभापति शेरबहादुर देउवाबाट पार्टी नचल्ने निष्कर्षसहित नेतृत्व परिवर्तनको एजेन्डा उठाउँदै आइरहनुभएको छ । बैठकको दोस्रो दिनमा बोल्ने प्रायः सबै नेताहरू संस्थापन पक्षका थिए । उनीहरूमध्ये अधिकांशले आफ्ना धारणा राख्ने क्रममा संस्थापन पक्षको बचाउ गर्दै संस्थापनइतर समूहका नेताहरूको आलोचना गरेका थिए ।

पार्टी केन्द्रीय सदस्य सीतादेवी देवकोटाले बैठकमा भन्नुभयो– ‘महामन्त्रीज्यूले विधानको कार्यान्वयन गर्ने वार्षिक क्यालेन्डर प्रस्तुत गर्नुभयो । तर, अवस्था यस्तो छ कि हामीले पार्टीको मात्रै मुहार फेरेर हुनेवाला छैन, देशको मुहार फेर्नु छ, त्यसका लागि पनि कांग्रेसले योजना दिनुपर्छ ।’ उहाँले नेपाली विद्यार्थीले विदेशमा पढ्न जाँदा मात्रै ५० औँ अर्ब रुपियाँ बाहिरिएको तथ्यलाई बुझ्नु आवश्यक रहेको समेत बताउनुभयो । वर्षेनी लाखौं युवाहरू विदेसिने क्रम बढिरहेको भन्दै युवालाई देशमै रोक्ने योजना नल्याएसम्म मुलुकको आर्थिक समृद्धि सम्भव नरहेको भन्दै उहाँले कांग्रेसले त्यसतर्फ विशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले प्रश्न गर्नुभयो– ‘महामन्त्रीज्यूहरूलाई म सोध्न चाहन्छु, हाम्रै विद्यालय, कलेजमा पढाएर यी युवा विद्यार्थीलाई देशमै राख्ने योजना कहाँ छ ?’

महामन्त्री थापाले बैठकममा पेस गरेका १० एजेन्डा पारित गर्ने कुरामा सभापति शेरबहादुर देउवालाई नैतिक संकट पर्ने आँकलन गरिरहेको अवस्थामा देउवा निकट केन्द्रीय सदस्यहरूले एजेन्डाकै विषयमा प्रश्नहरू उठाउन थालेपछि पारित हुने कुरामा शंका उत्पन्न भएको एक केन्द्रीय सदस्यले बताए । उनले भने– ‘अहिले शेरबहादुर दाई निकटका नेताहरू बोल्दै हुनुहुन्छ, उहाँहरू एजेन्डाभित्र रहेरभन्दा पनि आफ्नै कुण्ठा प्रकट गर्नतिर लाग्नुभएको छ । यसले मूल विषय ओझेलमा पर्न सक्छ ।’

महामन्त्री गगन थापाले ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने, समसामियक राजनीतिक घटनाक्रम, सांगठनिक कार्ययोजना, राष्ट्रव्यापी अभियानको घोषणा, कार्यसम्पादन समिति बैठकका निर्णय अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदन, नीति अधिवेशनको प्रस्ताव, विभाग गठन, अनुशासन समितिको प्रतिवेदन पेस, संसदीय दलको समीक्षा, संघ, प्रदेश र स्थानीय सरकारको समीक्षा र भातृसंगठनहरूको तदर्थ समिति निर्माण तथा पूर्णतालगायत विषयलाई एजेन्डाका रूपमा पेस गर्नुभएको थियो । उक्त एजेन्डाप्रति सभापति पूर्ण जानकार नभएको बताइएको छ ।

प्रत्यक्ष प्रसारण गरिएको बैठकमा उठेका यस्ता आलोचनाले पार्टीको आन्तरिक असमझदारीलाई समेत थप उदांगो बनाएको भन्दै केही नेताहरूले चिन्ता व्यक्त गरेका छन् भने कतिपयले पार्टीको माथिल्लो तहका नेताहरूलाई पनि प्रश्न गर्न सक्निे सुविधा कांग्रेसमा रहेको बताएका छन् ।

बैठकमा आफ्नो धारण राख्दै केन्द्रीय सदस्य नैनसिंह महरले गत निर्वाचनमा गठबन्धन गर्दा बहुमत आउँछ भनेर आश्वस्त पारिएको भन्दै अहिले बहुमत नआएको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गर्नुभयो । ‘हिजो चुनावको मुखमा गठबन्धन गर्दा बहुमत आउँछ, बहुमतको सरकार बन्छ, सजिलो हुन्छ भन्नुभएको थियो’, महरले भन्नुभयो–‘तपाईंहरूले भनेको बहुमत खै ?, बहुमत आउँछ भनेर हाम्रो टिकट खोस्ने, अहिले बहुमत नआएको जिम्मेवारी कसले लिने ?’ उहाँले सरकारले गरेको नराम्रो कामको भारी कांग्रेसले बोक्नु आवश्यक नभएको समेत धारणा राख्दै भन्नुभयो–‘हामी गठबन्धनको सरकारमा छौँ । तर, सरकारको राम्रो कामको जस कांग्रेसले पाइरहेको छैन । नराम्रो जत्ति सबैको भारी कांग्रेसले बोक्नुपर्ने अवस्था देखिएको छ । यस्तो कहिलेसम्म हो ? कांग्रेसले सरकारको नराम्रो कामको भारी बोकिरहनु आवश्यक छैन । पार्टीले लाभहानी हेरेर गठबन्धनको सरकारमा भूमिका निभाउन सक्नुपर्छ ।’ उहाँले कांग्रेसलाई जनताको बीचमा उभिएर एक्लै भोट माग्ने सक्ने बनाउने अभियानको प्रारम्भ गर्नुपर्ने बताउनुभयो ।

बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा परेका नेता बालकृष्ण खाँणको विषयमा समेत चर्चा भएको छ । पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा आफ्नै पार्टीका नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएकोप्रति केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले आलोचना गर्नुभयो । उहाँले भन्नुभयो– ‘कांग्रेसको एउटा नेता कुनै अभियोग लागेर समातिँदै गर्दा गृहमन्त्रीकहाँ धन्यवाद दिन पुग्नुहुन्छ ।

किन धन्यवाद दिन पुग्नुभयो ? थाहा छैन । के कारणले पुग्नुभयो, थाहा छैन ।’ नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित अन्य व्यक्ति पक्राउ परेलगत्तै कांग्रेसका दर्जन युवा नेताहरू गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिन पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्