भक्तपुरको वेदिक स्कुलका विद्यार्थीलाई एनसीसी तालिम

84
Shares

भक्तपुर ।

नेपाली सेनाले विद्यालयस्तरमा सञ्चालन गर्ने राष्ट्रिय सेवा दल (एनसीसी) तालिम भक्तपुरकोे सूर्यविनायक नगरपालिका बाल्कोटस्थित वेदिक स्कुलमा शुरू भएको छ । उक्त तालिम साउन १ गते सोमबारदेखि शुरू भएको विद्यालयका सञ्चालक आर.के. राउतले जानकारी दिनुभयो ।

तालिममा वेदिक स्कुलका १८ छात्रा, १८ छात्र गरी ३६ जना विद्यार्थी सहभागी रहेका छन् । नेपाली सेनाको भक्तपुर गठ्ठाघरस्थित भैरव बहान गुल्मसँगको समन्वयमा एनसीसी जुनियर डिभिजन तालिम शुरु भएको हो । सहभागी विद्यार्थीलाई उक्त गुल्मका गुल्मपति सेनानी सन्तोष केसीले सोमबार उद्घाटन गर्दै प्रथम प्रवचन दिनुभएको थियो ।

स्वस्थ, अनुशासित, कर्तव्यनिष्ठ, लगनशील युवा तथा नेपालजस्तो विभिन्न प्राकृतिक प्रकोप आउन सक्ने मुलुकमा विपद्का बेला स्वयम् सेवकका रूपमा काम गर्ने गरी नेपाली सेनाले यस्तो तालिम दिँदै आएको छ । भक्तपुर जिल्लामा उत्कृष्ट प्रदर्शन गर्दै आएको वेदिक स्कुल यसपटक सेनाको छनोटमा परेको हो । नेपाली सेनाले आफ्नै खर्चमा विभिन्न जिल्लाका उत्कृष्ट विद्यालयका विद्यार्थीलाई यो तालिम दिँदै आएको छ ।

सय दिनको तालिममा सहभागी विद्यार्थीलाई ७९ दिनसम्म नेपाली सेनाका प्रशिक्षकले तालिम दिनेछन् । बाँकी २१ दिन सामूहिक क्याम्प गरी विभिन्न स्थानको अवलोकनसहितको तालिम गराइने छ । तालिममा उत्कृष्ट विद्यार्थीलाई विदेश पठाएर तालिम प्रदान गरिन्छ । नेपाली सेनाको यस किसिमको तालिमबाट विद्यार्थीमा नेतृत्व विकास र समाजसेवी भाव उत्पन्न हुने वेदिक स्कुलका सञ्चालक राउतले बताउनुभयो ।