अस्पतालको फोहोर व्यवस्थापनको जिम्मा महानगरपालिकालाई



वीरगञ्ज । पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पताललाई फोहोर मुक्त गरि सफा स्वच्छ बनाउन वीरगञ्ज महानगरपालिकाको अभियान सञ्चालन गरेको छ ।

अब उक्त अस्पतालको फोहोर ब्यवस्थापनको जिम्मा पनि महानगरपालिकाले लिने भएको छ ।

साउन एक गतेबाट यस्तो निर्णय भएको वीरगञ्ज महानगरपालिकाका नगरप्रमख राजेशमान सिंहका प्रेस सल्लाहकार महेश दासले बताउनुभयो ।

अस्पताल जस्तो संवेदनशील ठाउँमा फोहोर रहेको भन्ने गुनासो आएपछि मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरञ्जन साह र वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलबीच गत शनिबार सम्झौता भई सरसफाइको जिम्मा महानगरपालिकाले लिएको हो ।

नारायणी अस्पताल र वीरगञ्ज महानगरपालिकाबीच साउन १ गतेदेखि २०८१ साल असार ३१ गतेसम्म सरसफाइसम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार नारायणी अस्पतालको बाहिरी सरसफाइ (शौचालय, बरन्डा, भर्याङ, अस्पताल परिसर तथा प्रशासनिक भवन) समेतको जिम्मेवारी वीरगञ्ज महानगरपालिकाले लिएको छ ।

अस्पतालको शल्यक्रिया कक्ष र वार्डभित्रको सरसफाइ तथा फोहोर व्यवस्थापनको जिम्मेवारी नारायणी अस्पतालले लिएको छ ।
सोही सम्झौताअनुसार आज (मंगलबरा) बिहान नगरप्रमुख सिंह आफै सरसफाइकर्मीसहित ट्रयाक्टर लिएर अस्पताल पुग्नु भएको थियो ।

नारायणी अस्पताल परिसरमा जथाभावी फोहोर गर्ने उपर वीरगञ्ज महानगरपालिकाको फोहरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम दण्ड जरिवाना तथा कारबाही गर्ने नगरप्रमुख सिंहले चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्