मेक्सिकोलाई नवौ पटक कोनकाफ गोल्डकप



वाशिंगटन, (एजेन्सी) । मेक्सिको नवौपटक कोनकाफ गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

प्रतियोगिता अन्तर्गत सोमबार बिहान लस एन्जेल्सको सोफी स्टेडियममा भएको फाइनलमा मेक्सिकोले पानामालाई १–० गोलअन्तरले हराउँदै नवौ पटक उपाधि जितेको हो । मेक्सिकोको जितमा खेलको ८८औं मिनेटमा सान्टिएगो गिमिनेजले गरेको गोल नै निर्णायक बन्यो ।

उनले मैदानको मध्यभागबाट बललाई एक्लैले दौडाएर पानामाको डिफेन्स र गोलरक्षकलाई बिट गर्दै आकर्षक गोल गर्न सफल भएका थिए ।

योसँगै मेक्सिको उत्तर तथा मध्य अमेरिकाको प्रतिष्ठित फुटबल प्रतियोगिता कोनकाफ गोल्डकप च्याम्पियनशिपको सबैभन्दा सफल राष्ट्र बनेको छ। यो प्रतियोगिताको उपाधि सर्वाधिक नौ पटक जित्ने मेक्सिको एक्लो राष्ट्र बनेको छ । अर्कोतिर पानामाले भने तेस्रो पटक पनि उपविजेतामा नै चित्त बुझाउनु परेको छ ।

जुन २४ देखि जुलाई १६ सम्म अमेरिका र क्यानाडामा संयुक्त रुपमा आयोजना भएको यस प्रतियोगितामा सहआयोजक अमेरिकाका जिसस फेरेरा सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगिताभरि सात गोल आफ्नो नाममा लेखाए । उनको टोली अमेरिका भने सेमीफाइनलमा पानामासँग पेनाल्टी सडन डेथमा पराजित हुँदै बाहिरिएको थियो ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडी अडलबेर्टो कासाक्विल्ला र उत्कृष्ट गोलरक्षक मेक्सिकोका गुइलेर्मो ओचाओ घोषित भए । प्रतियोगिताको फेयर प्ले अवार्ड भने अमेरिकाले प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्