सचिव बैठकका १८ निर्णय- आर्थिक अनुशासन कायमदेखि सशक्त अनुगमनसम्म



–होला त कार्यान्वयन ?
–यसअघिको अभ्यास हेर्दा फितलो कार्यान्वयन

काठमाडौं । मुख्य सचिव डा. बैकुण्ठ अर्यालको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको सचिव बैठकले आर्थिक अनुशासन कायम गर्नेदेखि मातहतका सबै निकायले गर्ने कार्यको सशक्त अनुगमन गर्ने निर्णय गरेको छ ।

मुख्य सचिव अर्याल आएपछि सचिवहरूको बैठक नियमित रूपमा बस्ने प्रणालीको विकास भएको छ । बैठक हरेक महिनाको पहिलो सोमबार बस्ने गरी नियमित कार्यतालिका बनाइएको छ ।

सोमबारको बैठकमा सबै मन्त्रालय र निकायका सचिवहरूको उत्साहवद्र्धक सहभागिता रहेको थियो । बैठकले सबै मन्त्रालय र निकायले आर्थिक अनुसशासन र सुशासनमा विशेष जोड दिनुपर्ने गरी निर्णय गरिएको छ । यसै गरी बैठकले सरकारको नीति कार्यक्रम तथा बजेटको सशक्त कार्यान्वयनमा सबै पक्षले विशेष कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार सचिव बैठकले राष्ट्रिय गौरवका आयोजनाका कार्यहरूलाई प्रभावकारी रूपमा अगाडि बढाएर ती आयोजनाहरूलाई निर्धारित समयमा नै सम्पन्न गर्ने गरी आवश्यक वातावरण बनाउने निर्णय गरेको छ ।

सो आयोजनाको अनुगमन प्रत्येक महिना प्रधानमन्त्रीले एक्सन रुममार्फत गर्नेगरी आवश्यक व्यवस्था मिलाइने निर्णय पनि सचिव बैठकले गरेको छ । यसै गरी विभिन्न मन्त्रालयको कामको अनुगमन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विषयगत सचिवले गर्ने र प्रधानमन्त्रीलाई त्यसको नियमित ब्रिफिङ गर्ने निर्णयसमेत गरिएको छ । यसै गरी सचिव बैठकले विभिन्न अनावश्यक कार्यालयको खारेजी गर्ने, नयाँ ओ एन्ड एम सर्वे गर्ने, एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको व्यवस्था गर्ने, सिंहदरबारभित्र विद्युत, खानेपानी, र इन्टरनेटलाई २४ सै घण्टा चालु रहने गरी आवश्यक व्यवस्थापन गर्ने, अन्तरमन्त्रालगत समन्वय गर्ने निर्णयसमेत गरिएको छ ।

यसै गरी सचिव बैठकले प्रदेश, स्थानीय तह र केन्द्रमा पनि आवश्यकताअनुसार कर्मचारी व्यवस्थापन गर्ने, सरकारी निकायमा बेरुजुको मात्रा बढ्न नदिने अत्यधिक रूपमा घटाउने निर्णय गरेको छ । यसै गरी बैठकले राष्ट्रिय समन्वय परिषद्को बैठकले गरेका निर्णय कार्यान्वयनमा सबै पक्षले विशेष ध्यान दिनुपर्ने निर्णय गरेको छ । यसै गरी सचिव बैठकमा प्रधानमन्त्री कार्यालयको पुनःसंरचना गर्ने, सबै निकायमा अटोमेसनलाई कार्यान्वयन गर्ने, फन्डिङ ग्याप र स्रोत सदुपयोगमा विशेष ध्यान दिनुपर्नेलगायतका निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सचिव बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्यालले सचिव बैठकका निर्णय कार्यान्वयनमा सबै सचिवहरूले सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो । विभिन्न सचिवहरूले काम गर्दा विभिन्न समस्या आइरपरेको भन्दै समस्या समाधानका लागि सामूहिक प्रयास जरुरी रहेको आवश्यकता आंैल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्