रुपन्देहीमा पुँजीगत खर्च ७१ प्रतिशत, राजस्व असुलीमा २९ प्रतिशतले कमी  

अघिल्लो वर्षको तुलनामा घट्यो आम्दानी

0
Shares

बुटवल। 

रुपन्देही जिल्लामा गत वर्षको तुलनामा पुँजीगत खर्च बढेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले आइतबार भैरहवामा आर्थिक वर्ष २०७९/०८० को तथ्यांक सार्वजनिक गर्दै आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा पुँजीगत खर्च बढेको जनाएको छ ।

आर्थिक वर्ष २०७९/०८०मा समग्रमा विनियोजित रकमको ८८ प्रतिशत रकम खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रका विष्णु प्रसाद ज्ञवालीका अनुसार रुपन्देहीको लागि आर्थिक वर्ष २०७९/०८० मा ४२ अर्ब २ करोड ६९ लाख ६३ हजार ४ सय ५१ रुपैयाँ विनियोजित भएको थियो । यस मध्ये चालु र पुँजीगत गरी कुल खर्च ८८ प्रतिशत अर्थात् ३७ अर्ब १ करोड ८१ लाख ५७ हजार ८ सय ६५ रुपैयाँ खर्च भएको छ । चालु खर्चको हकमा जिल्लामा ३४ अर्ब ८५ करोड ३३ लाख ७० हजार ११ रुपैयाँ खुद बजेट मध्ये ९२ प्रतिशत अर्थात् ३१ अर्ब ९३ करोड २० लाख ५८ हजार ७ सय ५२ रुपैयाँ खर्च भएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा रुपन्देहीमा पुँजीगत खर्च ७१ प्रतिशत खर्च भएको छ । पुँजीगत तर्फ ७ अर्ब १७ करोड ३५ लाख ९३ हजार ४ सय ४० रुपैयाँ मध्ये ५ अर्ब ८ करोड ६० लाख ९९ हजार १ सय १२ रुपैयाँ खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार पुँजीगत तर्फ असार महिनामा मात्रै कुल खर्चको ३० दशमलव ७७ प्रतिशत अर्थात् २ अर्ब २० करोड ७० लाख ८० हजार ९ सय ५८ रुपैयाँ खर्च भएको छ ।

जिल्लामा पुँजीगत तर्फ केही कम खर्च भएको देखिए पनि राष्ट्रिय परिदृश्यमा भने यो सन्तोषजनक नै मान्न सकिने अवस्थामा रहेको कार्यालय प्रमुख ज्ञवालीको भनाई छ । उहाँले आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा पुँजीगत खर्चमा वृद्धि भएको बताउनु भयो । “आर्थिक वर्ष २०७८/०७९ मा रुपन्देहीमा ४६ प्रतिशत मात्र पूजिंगत खर्च भएको थियो । ” उहाँले भन्नु भयोे

स्थानीय तहमा चालु र पुँजीगत खर्च तर्फ गरी सबैभन्दा बढी सियारी गाउँपालिकाले ८७ दशमलव १५ प्रतिशत खर्च गरेको छ । सियारीले ७५ करोड ८८ लाख ५० हजार मध्ये ६६ करोड १३ लाख २१ हजार खर्च गरेको प्रमुख कोष नियन्त्रक ज्ञवालीले जानकारी दिनु भयो । १६ वटा स्थानीय तह रहेको रुपन्देही जिल्लामा सबै भन्दा कम खर्च मर्चवारी गाउँपालिकाले गरेको छ । मर्चवारी गाउँपालिकाको कुल बजेट ५२ करोड २७ लाख २० हजार मध्ये ३३ करोड ७६ लाख ६७ हजार रुपैयाँ अर्थात् ६४ दशमलव ६० प्रतिशत मात्र खर्च भएको छ ।

खर्च बढे पनि रुपन्देहीमा भने गत वर्षको तुलनामा निकै कम राजस्व असुली भएको छ । आयात निर्यात प्रभावित हुँदा रुपन्देहीमा गत वर्षको भन्दा पनि कम आम्दानी भएको हो । गत वर्षको भन्दा यस वर्ष आम्दानीको लक्ष्य बढी रहे पनि आम्दानी भने गत वर्ष भन्दा पनि कम भएको छ । जिल्लाको सबै भन्दा ठूलो आम्दानीको श्रोत भैरहवा भन्सार कार्यालयले नै लक्ष्य अनुसारको राजस्व असुल्न नसकेपछि आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा २९ प्रतिशतले राजस्वमा कमी आएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा रुपन्देहीमा १ खर्ब ४३ अर्ब ६४ करोड ५६ लाख ६० हजार २ सय ५१ रुपैयाँ ८४ पैसा राजस्व असुली भएको थियो । यसको तुलनामा आर्थिक वर्ष २०७९/०८० मा १ खर्ब २ अर्ब २२ करोड ३० लाख ३७ हजार ८ सय ९० रुपैयाँ ६३ पैसा मात्र राजस्व असुली भएको प्रमुख कोष नियन्त्रका ज्ञवालीले जानकारी दिनु भयो । यस वर्ष गत वर्षको भन्दा ४१ अर्ब ४२ करोड २६ लाख २२ हजार ३ सय ६१ रुपैयाँ २१ पैसा कम राजस्व असुली भएको हो ।

रुपन्देहीमा अहिले पनि सबै भन्दा बढी राजस्व भैरहवा भन्सार कार्यालयले नै असुल गरेको छ । भन्सारले ७६ अर्ब ८९ करोड ५ लाख ९८ हजार १ सय ८४ रुपैयाँ असुल गरेको प्रमुख कोष नियन्त्रक ज्ञवालीले बताउनु भयो । यस्तै आन्तरिक राजस्व कार्यालय भैरहवाले १२ अर्ब २३ करोड ८० लाख ७ हजार ४ सय ८४ रुपैयाँ र आन्तरिक राजस्व कार्यालय बुटवलले १० अर्ब ३६ करोड ३३ लाख ८ हजार २१ रुपैयाँ असुल गरेको कार्यालयले जनाएको छ ।