वीर र ट्रमा सेन्टरमा  ७ बजेदेखि टिकट ८ बजेदेखि ओपिडी सेवा 



काठमाडौँ। 

नेपालको जेठो र जनताको पहुँचमा रहेको देशकै रिफरल वीर अस्पतालमा सोमबारदेखि बिहान सबेरैबाट ओपिडी सेवा सुरु भएको छ । आम नागरिकको स्वास्थ्य सेवा सर्वसुलभ हुने संविधानमै व्यवस्था भए अनुरूप कार्यान्वयन गर्न यो सेवा सुरु गर्ने निर्णय गरिएको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको निर्देशनको पालना गर्दै सरकारी स्वास्थ्य संस्था त्यो पनि देशकै जेठो अस्पतालबाट काम सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)को कार्यकारी परिषद् असार २२ गतेको निर्णय अनुसार वीर अस्पताल तथा राष्ट्रिय ट्रमा सेन्टरको ओपिडी बिहान ८ बजेदेखि ४ बजे सम्म सञ्चालन भएको हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा भूपेन्द्र बस्नेतले सोमबारदेखी बिहान ८ बजेदेखि ओपिडी तथा ७ बजे देखी टिकट खुल्ने जानकारी गराउनुभयो । त्यसैगरी राष्ट्रिय ट्रमा सेन्टरको ओपिडी पनि बिहान ८ बजेदेखि सुरु गरिएको बताउनुभयो ।

असार मसान्ता सम्म वीर अस्पताल र ट्रमा सेन्टरमा बिहान ९ बजे देखि साँझ ५ बजेसम्म कार्यालय तथा ओपिडी सेवा सञ्चालन हुँदै आएको थियो । बिरामीलाई सहज बनाउने बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले अस्पतालको टीमसँग पटक पटक छलफल गर्नुभएको र अस्पतालले सोही अनुरूप काम गरेर सेवा सर्वसुलभ बनाउन सबेरैको समयलाई बिरामी लक्षित गरेका डा. बस्नेत बताउनुहुन्छ ।

उपकुलपति डा.बस्नेतका अनुसार स्वास्थ्य मन्त्री र स्वास्थ्य मन्त्रालयको सपोर्ट भएकाले आम नागरिकको लाभका लागि काम गर्न वीर र ट्रमा सेन्टरलाई सहज भएको बताउनुभयो । वीर अस्पतालमा असारको अन्तिम दिनमा ३ हजार १ सय बिरामीले ओपिडी सेवा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्