भारत सरकारद्वारा नेपालका विभिन्न संघ /संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस प्रदान

0
Shares

काठमाडौँ।

भारतीय राजदूतावास काठमाडौंले आइतबार नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ/ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस प्रदान गरेको छ ।

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नेपाल सरकारका माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको उपस्थितिमा उक्त एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गर्नुभयो । समारोहमा विभिन्न जिल्लाका नगरपालिकाका मेयर, गाउँपालिका प्रमुख, लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी, समाजसेवी आदिको स उपस्थिति थियो ।

नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको उच्च प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको दूतावासले जनाएको छ।

कार्यक्रममा बोल्दै राजदूत श्रीवस्तवले उक्त एम्बुलेन्स तथा स्कुुल बसको हस्तान्तरण स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासलाई थप बलियो बनाउन नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारको लामो समयदेखिको परम्परा रहेको बताउनुभयो । उहाँले यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशको रुपमा रहेको जानकारी दिनुभयो । लामो इतिहास र विरासत बोकेको र नेपालका धेरै जसो भूभागमा फैलिएको यस कार्यक्रमले जनजीवनलाई सहज बनाउनुका साथै नेपालको विकास यात्रामा मूर्त प्रगति ल्याउन मद्दत गरेको पनि उहाँले उल्लेख गर्नु भयो।

सोही अवसरमा बोल्दै मन्त्री राईले भारत सरकारको सहयोगमा नेपालमा जारी विकास परियोजनाको सराहना गर्नुभयो । उहाँले ती परियोजनाले दुई देशबीचको जनता–जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउदै लैजाने बताउनुभयो । मन्त्री राईले नेपालको हिमालदेखि तराईसम्मका विद्यालय तथा स्वास्थ्य संस्थालाई सहयोग गरेकोमा भारत सरकारको प्रशंसा गर्नुभयो ।

सन् १९९४ यता भारतले यस पटकको हस्तान्तरणसहित हालसम्म नेपालका विभिन्न जिल्लामा रहेका विभिन्न संघ संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको छ । ‘यो सहयोग स्वास्थ्य तथा शिक्षा सुविधालाई सुदृढ बनाउन नेपालले गरेको प्रयासमा बल पुर्याउन र यस्ता सुविधाको सहज भौतिक पहुँचलाई सहजीकरण गर्न भारत सरकारले गदै आएको निरन्तर सहयोगको एक हिस्साको रुपमा रहेको छ ।’ विज्ञप्तिमा उल्लेख छ।