सचिव बैठकका १८ निर्णय 

आर्थिक अनुशासन कायमदेखि सशक्त अनुगमनसम्म 

0
Shares

होला त कार्यान्वयन ?

-यस अघिको अभ्यास हेर्दा फितलो कार्यान्वयन 

 काठमाडौँ  ।

मुख्य सचिव डा वैकुण्ठ अर्यालको अध्यक्षतामा सोमबार सिहदबारमा बसेको सचिव बैठकले आर्थिक अनुशासन कायम गर्नेदेखि मातहतका सबै निकायले गर्ने कार्यको सशक्त अनुगमन गर्ने निर्णय गरेको छ ।
मुख्य सचिव अर्याल आएपछि सचिवहरुको बैठक नियमित रुपमा बस्ने प्रणालीको विकास भएको छ । बैठक हरेक महिनाको पहिलो सोमबार बस्ने गरी नियमित कार्यतालिका बनाइएको छ ।

सोमबारको बैठकमा सबै मन्त्रालय र निकायका सचिवहरुको उत्साहवद्र्धक सहभागिता रहेको थियो । बैठकले सबै मन्त्रालय र निकायले आर्थिक अनुशासन र सुशासनमा विशेष जोड दिनुपर्ने गरी निर्णय गरिएको छ । यसैगरी बैठकले सरकारको नीति कार्यक्रम तथा बजेटको सशक्त कार्यान्वयनमा सबै पक्षले विशेष कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार सचिव बैठकले राष्ट्रिय गौरवका आयोजनाका कार्यहरुलाई प्रभावकारी रुपमा अगाडि बढाएर ती आयोजनाहरुलाई निर्धारित समयमा नै सम्पन्न गर्ने गरी आवश्यक वातावरण बनाउने निर्णय गरेको छ । सो आयोजनाको अनुगमन प्रत्येक महिना प्रधानमन्त्रीले एक्सन रुम मार्फत गर्ने गरी आवश्यक व्यवस्था मिलाइने निर्णय पनि सचिव बैठकले गरेको छ ।

यसैगरी विभिन्न मन्त्रालयको कामको अनुगमन प्रधानमन्त्री  तथा मन्त्रिपरिषद कार्यालयका विषयगत सचिवले गर्ने र प्रधानमन्त्रीलाई त्यसको नियमित ब्रिफिङ गर्ने निर्णय समेत गरिएको छ । यस्तै  सचिव बैठकले विभिन्न अनावश्यक कार्यालयको खारेजी गर्ने,  आवश्यकता अनुसार  ओ एन्ड एम सर्वे गर्ने , एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको  व्यवस्था गर्ने, सिंहदरबार भित्र  विद्युत्, खानेपानी, र इन्टरनेटलाई २४ सै घण्टा सुचारु रहने गरी आवश्यक व्यवस्थापन गर्ने, अन्तरमन्त्रालयगत समन्वय गर्ने निर्णय समेत गरिएको छ ।

 यसै गरी सचिव बैठकले प्रदेश, स्थानीय तह र केन्द्रमा आवश्यकता अनुसार कर्मचारी व्यवस्थापन गर्ने, सरकारी निकायमा बेरुजुको मात्रा बढ्न नदिने र अत्यधिक रुपमा घटाउने निर्णय गरेको छ । यसै गरी बैठकले राष्ट्रिय समन्वय परिषद्को बैठकले गरेका निर्णय कार्यान्वयनमा सबै पक्षले विशेष ध्यान दिनुपर्ने निर्णय गरेको छ । यस्तै  सचिव बैठकमा  प्रधानमन्त्री कार्यालयको पुनसंरचना गर्ने, सबै निकायमा अटोमेशनलाई कार्यान्वयन गर्ने, फण्डिङ ग्याप र स्रोत सदुपयोगमा विशेष ध्यान दिनुपर्ने लगायतका निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

 सचिव बैठकमा मुख्य सचिव डा वैकुण्ठ अर्यालले सचिव बैठकका निर्णय कार्यान्वयनमा सबै सचिवहरुले सशक्त भुमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो । विभिन्न मन्त्रालयका  सचिवहरुले काम गर्दा विभिन्न समस्या आइपरेको भन्दै समस्या समाधानका लागि सामूहिक प्रयास जरुरी रहेको आवश्यकता औँल्याएका थिए ।

 यस अघि पनि सचिव बैठकले आर्थिक अनुशासन र सुशासन कायम गर्ने विषयमा विभिन्न महत्त्वपूर्ण  निर्णय गरेको भएपनि ती निर्णयको खासै कार्यान्वयन हुन सकेको छैन । विगतको अभ्यास हेर्दा सचिव बैठकको निर्णय कार्यान्वयन अत्यन्तै फितलो देखिँदै आएको छ । डा अर्याल मुख्य सचिव भएपछि उहाँको अध्यक्षतामा बस्ने सचिव बैठकको निर्णय कार्यान्वयनमा उहाँ कतिको सफल हुने हो त्यो भने हेर्न बाकी छ ।