पूर्वमन्त्री तथा एमाले नेता यादव बैंकिङ कसुरमा पक्राउ

0
Shares

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् ।

यादवलाई बाँके प्रहरीले पक्राउ गरेको हो । लुम्बिनी प्रदेशको पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादवलाई प्रहरीले पक्राउ गरेर बुटवल ल्याउँदै गरेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

गत वर्षको माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवलाई उनले १२ लाख २८ हजार रुपियाँको चेक दिएका थिए ।

बैंक अफ काठमाडौंको उक्त चेक लिएर रकम निकाल्न जाँदा खातामा रकम नभएको पाइएपछि विजयबहादुर यादवविरुद्ध बैंकिङ कसुरको मुद्दा परेको थियो ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी जसपाबाट बाँकेको क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका थिए ।

पर्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएर भूमि व्यवस्था तथा सहकारीमन्त्री बनेपछि जसपाले उनलाई कारबाही गरेको थियो ।

त्यसपछि गत निर्वाचनको बेला एमाले प्रवेश गरेर प्रदेश सभामा प्रतिस्पधाृ गरे पनि उनी जसपाका भण्डारीलाल यादवसँग पराजित भएका थिए ।