गोरखा जिल्लाको हिमालपारिका बस्ती चुमनुब्री गाउँपालिकाले परम्परागत औषधोपचार प्रणाली ‘आम्ची (सोवारिग्पा)’ संरक्षण तथा व्यवस्थापनका लागि ‘ऐन २०७९’ निर्माण गरेको छ । सो ऐनको प्रस्तावना यस्तो छ ः
‘स्वस्थ जीवनयापन गर्न र बाँच्न पाउने नागरिकको नैसर्गिक हक–अधिकारलाई आत्मसात् गर्दै नागरिकको शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि स्वच्छ, स्वस्थ एवं सुरक्षित वातावरणमा गुणस्तरीय स्वास्थ्य सेवाको अपरिहार्यतालाई मनन गर्दै आदिवासी जनजाति र स्थानीय समुदायको परम्परागत ज्ञान, सीप, संस्कृति, सामाजिक परम्परा र अनुभवको आधारमा गरिने परम्परागत आम्ची (सोवारिग्पा) उपचारप्रतिको आदिवासी जनजाति र स्थानीय समुदायको आस्था, विश्वास र यसबाट प्राप्त हुने असररहित स्वास्थ्य लाभलाई व्यवस्थित, संरक्षण, संवद्र्धन गर्न यस गाउँपालिकामा सदियौंदेखि स्वास्थ्य उपचारमा लागी अभ्यास एवं प्रचलनमा रहेको आदिवासी जनजातिको औषधि उपचारसम्बन्धी आदिम ज्ञान, सीप र अभ्यासको रुपमा रहेको आम्ची (सोवारिग्पा) उपचार पद्धति र परम्पराको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरी स्थानीय तहमा व्यवस्थित, जनमुखी र प्रभावकारी बनाउनका लागि आवश्यक कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले नेपालको संविधानको धारा २२१ र २२६ तथा सोही संविधानको अनुसूची ७ र अनुसूची ९ मा उल्लिखित स्थानीय तहको स्वास्थ्यसम्बन्धी अधिकारलाई कार्यान्वयन गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिमको चुमनुब्री गाउँपालिकाको १२ औं गाउँसभाले यो ऐन बनाएको छ ।’
यो प्रस्तवनामा भनिएअनुसार हिमाली क्षेत्रका गाउँहरुमा सदियौंदेखि चलिआएको परम्परागत उपचार विधिलाई ‘आम्ची (सोवारिग्पा)’ भनिने रहेछ । यो उपचार विधि कहिलेदेखि प्रचलनमा आएको हो भन्ने बारेमा स्थानीयवासीलाई थाहा छैन । ‘स्याग्या (अहिंसा)’ चलन एक शताब्दीदेखि चलेको भए पनि ‘आम्ची (सोवारिग्पा)’ को चलन भने परापूर्वकालदेखिको हो भन्छन् । आयुर्वेद पनि भन्न नमिल्ने र तिब्बतीयन उपचार पनि भन्न नमिल्ने आफ्नै परम्परागत विधिद्वारा हिमाली वनस्पति र जडीबुटीबाट तयार पारिएको औषधिनै ‘आम्ची (सोवारिग्पा)’ भनिने रहेछ । यो विधिबाट उपचार गर्ने व्यक्तिलाई आम्ची (डाक्टर) भनिने रहेछ ।
चुम उपत्यका क्षेत्रमा हिमाली वनस्पति र जडीबुटीद्वारा परम्परागत ढंगबाट गरिने उपचार विधिलाई ‘आम्ची (सोवारिग्पा)’ भनिने स्वास्थ्य उपचार प्रणाली अहिले पनि उत्तिकै सान्दर्भिक र विश्वासिलो छ । यस किसिमको उपचारले मानिसलाई कुनै हानि–नोक्सानी नपु¥याउने कुरा स्थानीयवासी बताउँछन् । यहाँका बिरामीहरुले आधुनिक औषधि प्रणालीलाई भन्दा ‘आम्ची (सोवारिग्पा)’ प्रणालीलाई नै धेरै विश्वास गर्ने देखियो । त्यसैले गाउँपालिका अध्यक्ष निमा लामाले यस किसिमको परम्परागत प्रणालीलाई स्थानीय सरकारमार्फत कानुनी वैधानिकता दिन लागिपरेको बताउनुभयो ।
यसै विषयसँग सम्बन्धित मेरो एउटा अनुभव छ । वि.सं. २०५३ (सन् १९९६) मा फ्रान्सको एएफपीएन भन्ने संस्थाले यस्तो हिमालपारि बस्ने जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न भनी यही चुम उपत्यकाका तत्कालीन छेकम्पार गाविसका एकजना युवा तासीदोर्जे लामालाई सामुदायिक स्वास्थ्य सहायक पढ्न सहयोग प्रदान गरेको थियो । केही समय निज तासीदोर्जे लामाले एक स्वास्थ्य केन्द्रमा काम गर्नुभएको पनि थियो । यहाँको समुदाय सबै आम्ची (सेवोरिग्पा) पद्धतिको उपचारमा विश्वास गर्ने भएपछि हाल निज तासीदोर्जे लामाले स्वास्थ्य केन्द्रको पेसा छाडेर जनताकै मतबाट चुमनब्री गाउँपालिका वडा नं. ७ को वडा अध्यक्ष बन्नुभएको छ । यसले पनि के प्रमाणित गर्छ भने, नयाँ प्रविधिको उपचारलाई जनसमुदायले विश्वास गर्दैनन् ।
यसरी परम्परागतरुपमा चलिआएको ‘आम्ची (सोवारिग्पा)’ उपचार विधिलाई चुमनुब्री गाउँपालिकाले गाउँसभाबाट पारित गरी स्थानीय राजपत्रमा प्रकाशन गरेको छ । यसलाई आवश्यक प्रक्रिया पूरा गरी गाउँपालिकाबाट स्वीकृति लिनुपर्ने बनाइएको छ । यसलाई निम्न किसिमले सात स्तरमा विभाजन गरिएको छ– (१) प्राथमिक आम्ची (सोवारिग्पा) उपचार केन्द्र (२) आम्ची (सोवारिग्पा) क्लिनिक (३) आम्ची (सोवारिग्पा) औषधि पसल (४) आम्ची (सोवारिग्पा) सामुदायिक स्वास्थ्य केन्द्र (५) आम्ची (सोवारिग्पा) पुनस्र्थापना केन्द्र (६) आम्ची (सोवारिग्पा) योग केन्द्र (७) आम्ची औषधि उत्पादनसम्बन्धी लघु उद्यम । यी सात स्तरमध्ये १, २ र ३ बमोजिमको काम गर्न एउटै संस्थाले पाउने गरी आम्ची (सोवारिग्पा) स्वास्थ्य संस्था दर्ता गर्न पाउने छन् । यसरी कानुन निर्माण भएपछि इजाजतविना कसैले काम गर्न पाउने छैन । यस कानुनमा आवश्यक सबै प्रक्रिया पु¥याउनुपर्ने बनाइएको छ ।
चुमनुब्री गाउँपालिकाको ऐनमा आम्ची (सोवारिग्पा) स्वास्थ्य संस्थाको गुणस्तर र अनुगमनको पनि व्यवस्था गरिएको छ । यस्ता स्वास्थ्य संस्थाहरुले नेपाल सरकारले बनाएको स्वास्थ्य सेवासम्बन्धी मापदण्डको अधीनमा रही परम्परागत स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन यसको निर्देशिका बनाएर लागू गर्न सक्ने प्रावधान राखिएको छ । स्थानीय सरकारले कानुन बनाएपछि विनाइजाजत आम्ची (सोवारिग्पा) स्वास्थ्य संस्था वा पसल सञ्चालन गर्न नपाइने गरिएको छ । यसरी बनाइएको कानुनमा सबै कुरालाई समेटेर आम्ची (सोवारिग्पा) उपचार प्रविधिले जनमानसको स्वास्थ्यमा नकारात्मक प्रभाव हुन नदिन यो ऐन २०७९ लागू गरिएको देखियो ।
गोरखा जिल्लाको हिमालपारिको बस्तीमा सदियौंदेखि चलिआएको परम्परागत चालचलन, रहनसहन, खानपान, संस्कार, संस्कृति र औषधोपचारले यहाँको वातावरण, पर्यावरण, शान्ति र सुरक्षालाई सही ढंगबाट जोगाएको देखिन्छ । लाखौं वर्षअगाडि ऋषिमुनीको पालादेखि परीक्षण र प्रयोग हुँदै आएको वनस्पति र जडीबुटीहरुमा जत्तिकै नयाँ विकास भएको मुनाफाका लागि उत्पादन गरेको औषधिहरुमा विश्वास गर्न सहज नहोला । त्यसैले, चुमनुब्री गाउँपालिकाको ‘स्याग्या (अहिंसा)’ र ‘आम्ची (सोवारिग्पा)’ जस्तो स्थानीय वातावरण र मानवीय स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पार्ने विषयमा अध्यक्ष निमा लामाले परम्परागत चलिआएको विषयलाई वैधानिकता दिनुभएको छ । यसबाट म आफू ज्यादै प्रभावित भएको छु ।
यसरी परम्परागत चालचलनलाई गाउँपालिकाले नियम कानुन बनाई स्थानीय जनतालाई संस्थागत अधिकार दिलाउनु ज्यादै सराहनीय कुरा हुन् । यो स्थानीय सरकारको कानुनले वनजंगल, वनस्पति, जडीबुटी, वन्यजन्तु, चराचुरुंगीहरुको संरक्षण हुनुको साथै मानव स्वास्थ्यमा प्रत्यक्ष फाइदा पुग्ने कुरा मनन गर्न सकिन्छ । यस कानुनले यहाँका वन्यजन्तु र चराचुरुंगीहरु सहजै मानव बस्तीमा चर्न र खेल्न आइपुग्ने गरेको देखिन्छ । यी सबै कुरा जानकारी पाएपछि यहाँका समुदाय र गाउँपालिकाका अध्यक्ष निमा लामालाई धन्यवाद नदिइरहन सकिन्न ।
प्रतिक्रिया