काठमाडौं । देशको सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा प्रदेश अस्पताल सुर्खेतमा दोस्रो मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ ।
मर्गौला प्रत्यारोपणका लागि २०७८ चैत्र १० गते सम्झौता भएअनुसार प्रदेश अस्पताल सुर्खेतमा २०७९ माघ २१ गते पहिलो प्रत्यारोपण सेवा शुरू गरिएको थियो । पुनः २०८० असार २८ गते दोस्रो बिरामी छोरालाई रोल्पा जिल्ला रोल्पा नगरपालिका–२ निवासी ५५ वर्षीया आमाले ३७ वर्षीय छोरालाई मिर्गौला दान गर्नुभएको थियो । हाल अंगदाता र अंग ग्रहणकर्ता दुवैको स्वास्थ्य अवस्था समान्य रहेको मानव अंग प्रत्यारोपण केन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रत्यारोपणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री मोहनबहादुर बस्नेतको अभिभावकत्व तथा सचिवद्वय देवकुमारी गुरागाईं र डा. रोशन पोखरेलको नेतृत्वमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काको टिमद्वारा उक्त प्रत्यारोपण कार्य सम्पन्न भएको हो ।
मिर्गौला प्रत्यारोपण कार्यमा प्रदेश अस्पताल सुर्खेतका चिकित्सकहरू, ओटी इन्चार्ज तथा ओटी र आईसीयूमा कार्यरत नर्सिङ कर्मचारीहरू साथै प्रयोगशालाकर्मी लगायतका कर्मचारीहरू सम्लग्न रहनुभएको थियो भने सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्राविधिक सहयोगमा सो कार्य सफलतापूर्वक सम्पन्न भएको हो ।
आगामी दिनहरूमा प्रदेश अस्पतालमा नियमित रूपमा प्रत्यारोपण सेवा सञ्चालन गर्ने योजना रहेको र त्यसका लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गरी आत्मनिर्भर बनाउनका लागि केन्द्रमा थप तालिममा पठाउने योजना बनाएको प्रदेश अस्तपताल सुर्खेतका निर्देशक डा. खड्काले बताउनुभयो ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १० वर्ष अवधिमा झन्डै १ हजार १ सय जनाको मिर्गौला प्रत्यारोपण सम्पन्न हुनुका साथै देशमै पहिलोपटक मस्तिष्क मृत्युबाट हुने मिर्गाैला तथा कलेजो प्रत्यारोपण, अंगदानसम्बन्धी व्यापक प्रचारप्रसार तथा देशभरि डायलाइसिस विस्तार गर्न सघाउनका साथै सबै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने तयारी गरेको जनाएको छ ।
गण्डकी प्रदेशको साथै कर्णाली प्रदेशअन्तर्गतको सुर्खेत प्रादेशिक अस्पतालमा प्रत्यारोपण सेवा शुरू भइसकेको छ भने क्रमशः सेती प्रादेशिक अस्पताल, धनगढी, वागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौंडा अस्पताल र कोसी प्रदेशको कोसी अस्पताल विराटनगर हुँदै देशको सातै प्रदेशमा प्रत्यारोपण कार्यको तयारी भइरहेको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताउनुभयो ।











प्रतिक्रिया