प्रदेश अस्पताल सुर्खेतमा दोस्रो मृर्गौला प्रत्यारोपण

0
Shares

काठमाडौं  । 

देशको सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा प्रदेश अस्पताल सुर्खेतमा दोस्रो मृगौला प्रत्यारोपण सम्पन्न भएको छ ।

मर्गौला प्रत्यारोपण गर्नका लागि २०७८ चैत्र १० गते सम्झौता भए अनुसार प्रदेश अस्पताल सुर्खेतमा २०७९ माघ २१ गते पहिलो प्रत्यारोपण सेवा सुरु गरिएको थियो ।  पुनः २०८० असार २८ गते दोस्रो बिरामी छोरालाई रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नं २ निवासी ५५ वर्षीय आमाले ३७ वर्षीय छोरालाई मृगौला दान गर्नु भएको थियो ।  हाल अंगदाता र अंग ग्रहणकर्ता दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको मानव अंग प्रत्यारोपण केन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रत्यारोपणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री मोहन बहादुर बस्नेतको अभिभावकत्व तथा सचिव द्वय देव कुमारी गुरागाईँ र डा रोशन पोखरेलको नेतृत्वमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काको टिमद्वारा उक्त प्रत्यारोपण कार्य सम्पन्न भएको हो ।मृगौला प्रत्यारोपण कार्यमा प्रदेश अस्पताल सुर्खेतका चिकित्सकहरु, ओटी इन्चार्ज तथा ओ.टी. र आई.सि.यु. मा कार्यरत नर्सिङ्ग कर्मचारीहरू साथै प्रयोगशालाकर्मी लगायतका कर्मचारीहरू संलग्न रहनु भएको थियो भने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्राविधिक  सहयोगमा सो कार्य सफलता पूर्वक सम्पन्न भएको हो ।

आगामी दिनहरूमा प्रदेश अस्पतालमा नियमित रूपमा प्रत्यारोपण सेवा सञ्चालन गर्ने योजना रहेको र त्यसको लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गरी आत्मनिर्भर बनाउनको लागि केन्द्रमा थप तालिममा पठाउने योजना बनाएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा खड्काले बताउनु भयो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १० वर्ष अवधिमा झन्डै १ हजार १ सय जनाको मृर्गौला प्रत्यारोपण सम्पन्न हुनुका साथै देशमै पहिलो पटक मस्तिष्क मृत्युबाट हुने मृगौला तथा कलेजो प्रत्यारोपण, अंगदान सम्बन्धी व्यापक प्रचार प्रसार तथा  देश भरी डायलिसिस विस्तार गर्न सघाउनका साथै सबै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने तयारी गरेको जनाएको छ ।

गण्डकी प्रदेशको साथै कर्णाली प्रदेश अन्तर्गतको सुर्खेत प्रादेशिक अस्पतालमा प्रत्यारोपण सेवा सुरु भई सकेको छ भने क्रमशः सेती प्रादेशिक अस्पताल, धनगढी, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौडा अस्पताल र कोसी प्रदेशको कोसी अस्पताल विराटनगर हुँदै देशको सातै प्रदेशमा प्रत्यारोपण कार्यको तयारी भई रहेको छ  केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र  श्रेष्ठले बताउनु भयो ।

मृगौला प्रत्यारोपण सेवा सञ्चालन गर्न माग निर्देशन तथा हौसला प्रदान गर्नु हुने प्रदेश सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र प्रति प्रदेश अस्पताल सुर्खेतले आभार व्यक्त गरेको छ ।