स्वास्थ्यकर्मी मृत्यु प्रकरण : चारजना पक्राउ

0
Shares

काठमाडौँ।

काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसरका अनुसार हिजो बिहान उक्त सेन्टरका फार्मेसी इञ्चार्ज अमृत पोखरेल मृत भेटिएका थिए । उहाँको परिवारले किटानी जाहेरी दिएकाले सोही आधारमा आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

उनका अनुसार पक्राउ गरिएकामा प्रशासन प्रमुख मनोजकुमार बस्नेत, फार्मेसी अधिकृत जुना स्थापित, प्राविधिक सहायक विष्णु पौडेल र कृष्ण पन्त रहेका छन् । निजहरुले मानसिक तनाब दिएकाले अमृतले आत्महत्या गरेको परिवारले आरोप लगाएका छन् । अमृतले ‘आफूलाई फसाउन खोजिएको’ भनेर लेखेको पत्र पनि बरामद भएको प्रहरी उपरीक्षक सीताराम रिजालले बताए । उनका अनुसारका घटनाबारे थप अनसन्धान भइरहेको छ ।