शव नबुझ्दै रिहा भए वडा अध्यक्ष 

282
Shares

– राज्य ‘शक्ति’को चरम दुरुपयोग
– शवको पोस्टमार्टम नै भएन
– सरकारी वकिलको राय लिएर प्रहरीले छाडिदियो 
– प्रहरी भन्छ – ‘पोस्टमार्टम भएको छैन, हिरासतमा राख्नु परेन’ 
– गाउँपालिका अध्यक्ष साक्षी बसे

काभ्रे  । 

असार १० गते मृत अवस्थामा फेला परेका भुम्लु १ सापिङ्ग उर्लेनीका ६८ वर्षीय ठडेन्द्रप्रसाद पन्तको शवको पोस्टमार्टम नहुँदै अनुसन्धानका लागि पक्राउ परेका वडा अध्यक्ष लेखबहादुर श्रेष्ठ, वडा सदस्य दानकुमारी महत खत्री र टोल सुधार समितिका अध्यक्ष ताराबहादुर पन्तलाई प्रहरीले शक्तिको आडमा हिरासत मुक्त गरेको छ ।

‘वडा अध्यक्ष श्रेष्ठ, सदस्य महत र टोल सुधार समितिका पन्तलाई पक्राउ पुर्जी जारी गरिएको थियो’–जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुण्डीराज न्यौपानेले भन्नुभयो–‘सरकारी वकिल कार्यालयमा लिएको बयान, प्राप्त प्रमाण र अनुसन्धानका आधारमा उहाँहरूलाई हिरासतमा राखिरहनु पर्ने देखिएन ।’

सोही आधारमा सरकारी वकिलको कार्यालयमा मागिएको रायमा जिल्ला महान्यायाधिवक्ता शम्भु बस्नेतले समर्थन जनाएसँगै पक्राउ परेका तिनै जना जुनसुकै बेला पनि उपस्थित गराउने गरी गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले बुझेर लगेको डिएसपी न्यौपानेले बताउनु भयो । ‘प्रहरीले राय माग्यो, मैले समर्थन दिएँ’–जिल्ला महान्यायाधिवक्ता शम्भु बस्नेतले भन्नुभयो–‘उहाँहरू पक्राउ नभई पक्राउ पुर्जी जारी भएको थाहा पाए पछि आफै हाजिर हुन आउनु भएको रहेछ ।

तीनै जनाको बयान पछि आत्महत्या दुरुत्साहन अभियोगमा प्राप्त प्रमाण र इन्कारी बयानका आधारमा हिरासतमा राखिरहनु नपर्ने प्रहरीको रायलाई समर्थन जनाएको बस्नेतले बताउनु भयो । ‘शवको पोस्टमार्टम नै भएको छैन, प्रहरीले अन्य साक्षीहरूलाई समेत बुझेको छैन, पीडितको बयान पनि छैन, मात्रै जाहेरीका आधारमा बयान लिएर छाड्न मिल्छ ? भन्ने प्रश्नमा बस्नेतले भन्नुभयो–‘यो प्रहरीको क्षेत्राधिकार भित्रको कुरा हो ।

प्रहरीले मलाई राय माग्यो मैले समर्थन जनाएँ ।’ यस्तो जघन्य अपराधमा यस्तो समर्थन दिन मिल्छ ? बस्नेतले भन्नुभयो–‘घटना, परिस्थिति र प्राप्त तथ्यका आधारमा दिन मिल्छ । सबैमा मिल्दैन ।’ डिएसपी न्यौपानेले भने मृतकका आफन्तहरूलाई पटक पटक पोस्टमार्टमका लागि बोलाउँदा पनि नआएको बताउनु भयो । ‘हामीले अरू प्रक्रिया जारी नै राख्छौ, अनुसन्धान पनि जारी हुन्छ तर उहाँहरूलाई हिरासतमा राखिरहन आवश्यक ठानिएन’–डिएसपी न्यौपानेले भन्नुभयो ।

‘बुबाको आत्महत्या वा हत्या के हो ? अनुसन्धानका लागि जाहेरी दिएका छौँ’–छोरा शेरबहादुर पन्तले भन्नुभयो–‘सुरुमा प्रहरीले जाहेरी लिएन । जाहेरी लियो अभियुक्तहरूलाई पक्राउ गरेन । पोस्टमार्टम नै नगरी पक्राउ गरिएका आरोपितहरूलाई छाडिदियो’– छोरा शेरबहादुर पन्तले भन्नुभयो । प्रहरीले न्याय नदिई यातना  दिइरहेको उहाँले बताउनुभयो । असार १० गते देखि ठडेन्द्रबहादुर पन्तको शव धुलिखेल अस्पतालको मुर्दा घरमा राखिएको छ ।

भुम्लु १ सापिङ्गका वडा अध्यक्ष लेखबहादुर श्रेष्ठ, वडा सदस्य दानकुमारी महत खत्री र टोल सुधार समितिका अध्यक्ष ताराबहादुर पन्तले २०८० असार ८ गते भेटेर तथा फोनमा समेत ठडेन्द्रलाई लब्सिको रुखमा बाँधेर भए पनि पास नभएको जग्गामा भवन बनाउँछु भनेकै पर्सिपल्ट जग्गाकै छेउमा रहेको लब्सिको रुखमा झुन्डिएको अवस्थामा ठडेन्द्रको शव फेला परेको थियो ।

वडा अध्यक्ष र सदस्यको धम्की पछि आत्महत्या गरेका भुम्लु १ सापिङ्ग उर्लेनीका ठडेन्द्रप्रसाद पन्तका छोरा र भतिजाले दिएको आत्महत्या दुरुत्साहन गर्न बाध्य बनाएको अभियोगको जाहेरी जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले असार १८ गते  दिउँसो दर्ता गरेको थियो ।

असार ९ गते साँझ घरबाट निस्किएका पन्तको शव असार १० गते बिहान झुन्डिएको अवस्थामा फेला परेको थियो । ‘हुर्किँदै गरेको मकै उखेल्दै फालेर जर्बजस्ति शौचालय निर्माणको प्रक्रिया सुरु भए पछि वडा अध्यक्ष, सदस्य र टोल सुधार समितिका अध्यक्षले दिएको धम्की सहन नसकेर बुबाले आत्महत्या गर्नु भए जस्तो लाग्छ ।

हत्या पछि आत्महत्या जस्तो देखाइएको हो कि ? शंका छ । धम्कीको पर्सिपल्ट जग्गाकै छेउमा रहेको लब्सिको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेपछि न्यायका लागि जाहेरी लिएर प्रहरी कार्यालय धाई रहेका हौँ ।’