बागमती टिपर व्यवसायी संघ आफ्नै भवनमा

0
Shares

काभ्रे । 

बागमती टिपर व्यवसायी संघले आफ्नै भवन निर्माण गरेको छ । व्यवसायलाई प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको टिपर व्यवसायी संघले आफ्नै भवनबाट प्रशासनिक कार्य गर्ने गरी तयारी गरेको छ ।

बनेपा नगरपालिका वडा नम्बर ८ स्थित तुल्टीफाँटमा ५ आना जग्गामा निर्माण भएको तीन तल्ले पक्की भवनका लागि १ करोड खर्च भइसकेको छ । भवन निर्माण कार्य अन्तिम हुँदा करिब डेड करोड खर्च हुनेछ । ‘टिपर व्यवसायीहरुलाई संस्थागत र व्यवसायी विकासका लागि निरन्तर विभिन्न कार्यहरू भइरहेका छन्’–अध्यक्ष सुरेश खत्रीले भन्नुभयो–‘व्यवसायी, मजदुर र सडक तथा पैदल यात्रुहरूका लागि समेत सुरक्षाका लागि कार्यहरू भइरहेका छन् ।’

असार २९ गते औपचारिक रूपमा टिपर व्यवसायी संघको कार्यालय उक्त भवनबाट शुभारम्भ गरिएको अध्यक्ष खत्रीले बताउनु भयो । बागमती टिपर व्यवसायी संघमा करिब ७ सय टिपर आबद्ध भएका छन् । करिब ५ सय टिपरले मात्रै नियमित नवीकरण गरेका छन् । संंघले असार मसान्तसम्म संघमा आबद्ध हुने टिपरहरूलाई १५ हजार रुपैयाँबाट घटाएर ५ हजार रुपैयाँ मात्रै लिने निर्णय गरेको छ ।

त्यस्तै नवीकरण शुल्क पनि ३ हजार २ सयबाट घटाएर साउन १ गते देखि २ हजार ५ सय कायम गरेको कार्यालय प्रमुख प्रकाश कायस्थले जानकारी दिनु भयो । संघमा आबद्ध हुने ब्यवसायीहरुका लागि उपचार खर्च, दुर्घटना बिमा लगायतका विभिन्न सुविधाहरू उपलब्ध गराएको छ भने नियमित नवीकरण गर्ने मजदुरहरूलाई पनि विभिन्न प्रकारका सुविधा उपलब्ध गराउँदै आएको छ ।

दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम र पुरस्कृत गर्दै आएको छ । पछिल्ला वर्षमा बागमती टिपर व्यवसायी संघमा आबद्ध टिपरहरूका कारण दुर्घटना हुने संख्यामा कमी भएको तथ्याङ्कले पुष्टि गरेको छ ।  पाँच वर्ष अघि संघले बनेपा ८ मा जग्गा खरिद गरेको थियो । संघमा संस्थापक अध्यक्ष राजभक्त प्रधान, पूर्व अध्यक्षहरू शेरबहादुर कुँवर, प्रेम लामा र वर्तमान अध्यक्ष सुरेश खत्रीले नेतृत्व गरिरहनु भएको छ । संघले महासंघमा सदस्यता लिएर व्यवसायी एकता र जिम्मेवारीलाई थप सशक्त बनाएको छ ।