सदाचारिता र नैतिकताको पालना



प्रत्येक संगठन, संगठनको नेतृत्व गर्ने पदाधिकारीहरु आचरण, सदाचार र उत्तरदायी हुने प्रकारको व्यवस्था र सो गुणको परिपालना गर्दै अघि बढ्नुपर्छ । सम्पूर्ण ऐन, नियम र बन्दोबस्तमा सोही अनुरुपको संयोजन हुन पनि आवश्यक छ । यति हुँदाहुँदै पनि राजनीतिक नेतृत्वमा नीतिको प्रबन्ध गर्ने कौशल र प्रशासकीय नेतृत्वमा शासकीय व्यवस्थापन गर्ने कौशल नभएमा शासकीय प्रबन्धले सन्तुलन गुमाउन सक्छ । त्यति बेला पूर्ण सूचनासम्बन्धी जानकार, राष्ट्रप्रति बफादार, उच्च नैतिकता भएका नागरिकले नै चुनावमा हुने छनौटमार्फत विवेकको प्रयोग गरी सन्तुलन ल्याउनुपर्ने हुन्छ ।

तर हाम्रो समाजमा धेरै मानिस चाकरी प्रवृत्तिमै रमाउन पुग्छन् भन्ने गुनासो पनि यदाकदा भएको पाइन्छ । शक्तिशाली र प्रभावशाली मानिस नाता–पाता खोज्दै घरमा पुग्छन् र कतिपयमा लेनदेन पनि हुन सक्छ भन्ने गुनासो छ । यस प्रकार अनुचित काम गर्ने र अपराध गर्नेहरुको मति कुनै न कुनै ढंगले प्रशासन, प्रहरी र नेताहरुसँग सम्बन्ध हुन पुग्छ । अपराधीहरुले अपराध नियन्त्रण गर्नेको सहयोग र समन्वयमा अपराधबाट बच्न नेताहरुसँग पुग्ने सम्पर्क सूत्र पहिल्याएका पनि हुन्छन् भन्ने गुनासो सुनिन्छ ।

जनताप्रति, मुलकप्रति, विधिप्रति, कानुनप्रति इमानदार हुनै सक्दैन भने के सरकार ? न्यायपालिका, संसद् र सरकारको मुख्य उद्देश्य त जनताको हित पो हो तर त्यस्तो हुन सकेको छैन । यो सबै नैतिकता र सदाचारिताको अभाव नै हो । नेपालमा आन्दोलनको आक्रोश ‘डाइभर्ट गर्न मात्रै आयोग, समिति, कार्यदल गठन हुन्छ । आफूलाई अनुकूल पर्दा आयोगको प्रतिवेदनको कुरा गर्ने अनि अरु बेलामा वास्तै नगर्ने परिपाटी देखिएको छ ।

प्रत्येक संस्थामा राज्यप्रति इमानदार, नैतिकवान्का साथै बोली र व्यवहारप्रति एकरुपता भएको, कार्यप्रति निष्ठावान् व्यक्तित्व चयन हुनुपर्दछ । जस्तै– उदाहरणका लागि न्यायाधीशको आसनमा बस्नेले न्याय प्रदान गर्ने लक्ष्य मात्रै देख्नुपर्दछ । जसले नियुक्ति गर्ने हो, उसको क्षमता, ल्याकत र इमानदारी नियुक्त हुने व्यक्तिको भन्दा ज्यादा हुन अनिवार्य छ । नियुक्त हुनेभन्दा नियुक्ति÷छनोट गर्नेको सोच माथिल्लो भएमात्रै त्यहाँ जाने पात्रबारे वास्तविक मूल्यांकन हुन सक्छ । परिपक्व व्यक्ति भएमात्रै सही व्यक्तिको छनोट हुन्छ । लोकतन्त्र परिपक्व हुन यस्ता पक्ष कारक हुन्छन् र शासकीय प्रबन्ध सोही अनुसार संयोजन हुन पनि आवश्यक छ ।

जनतामा सकारात्मक प्रभाव र सन्देश छाड्नु पनि लोकतान्त्रिक चरित्रको एउटा पाटो हो । तर यहाँ त प्रवृत्ति र संस्कार दुवै गलतमा दौडिएको पाइन्छ । चिन्तन त्यही पुरानै छ, व्यवहार अनुचित छ, शब्द नयाँ नेपालको सुन्दर छ तर यात्रा कठिन मोडमा छ । प्रत्येक चुनावमा चुनावी प्रक्रियाबाट पनि दल र नेताहरुको वैधताको परीक्षण हुने नै छ । लोकतन्त्रमा दलहरुको उत्थान र अवसान जनस्तरबाट लोकतन्त्रमा हुने चुनावमार्फत हो । को उड्ला, को खस्केला ? भोलिका दिनमा देखिन्छ । तर प्रशासन र सरकारी संयन्त्र, कार्यालय भने जनताको विश्वास, भरोसा, प्रगति, लक्ष्य, अनुशासन, चरित्र, आचरणमा टिक्नुपर्छ । यसबाट नै शासकीय उत्तरदायित्वको वैधता प्रमाणित हुन पुग्छ ।

प्रतिक्रिया दिनुहोस्