काभ्रेको रोशी गाउँपालिकामा दुईदिने बृहत् स्वास्थ्य शिविर सञ्चालन



काभ्रे ।

काभ्रेको रोशी गाउँपालिकाम  दुईदिने बृहत् स्वास्थ्य शिविर शुरु भएको छ।   रोशी गाउँपालिकाको आयोजना तथा सिंगापुर रेडक्रसको र प्रारम्भ नेपालको प्राविधिक सहयोगमा मंगलटार स्वास्थ्य केन्द्रमा आजदेखि दुई दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो।

शिविर जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाचोकको समन्वयमा भएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी गराउनुभयो । लामाले शिविरको उद्घाटनमा  मनतब्य दिँदै रोशी गाउँपालिकाले जनस्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखी ६० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य बीमा गर्नुका साथै आँखा उपचारका लागि रेयुकाई आँखा अस्पताल बनेपासँग सहकार्य गरिएको र अपांगता भएका बालबालिकाका लागि बनेपाको एचआरडीसी अस्पतालसँग समन्वय गरिएको जानकारी गराउनुभयो ।

उहाँले खानेपानीलाई पनि उत्तिकै प्राथमिकतामा राखी ५ वटा परियोजना पूरा  गरी  ४ सय घरधुरीलाई शुद्ध  पिउने पानी पुर्‍याएको जानकारी गराउनुभयो।


स्वास्थ्य शिविरमा स्त्रीरोग, हाडजोर्नी, अकुपंचर, प्लाष्टिक सर्जरी, जनरल फिजिसियन एवं मुटुरोग विशेषज्ञद्धारा स्वास्थ्य परीक्षण गरिने सिंगापुर रेडक्रस सोसाईटी नेपाल प्रतिनिधि कल्पना क्षेत्रीले जानकारी गराउनुभयो ।

कार्यक्रममा सिंगापुर रेडक्रसको चिकित्सकीय टोली, नेपाल प्रतिनिधि कल्पना क्षेत्री, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष,  रोशी गाउँपालिकाका उपाध्यक्ष मीम बहादुर वाईवा, प्रशासकीय अधिकृत रामबहादुर तामाङ, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा.पुरुषोत्तम सेढाई, वडा ७ का अध्यक्ष अशोक गौतम, रोशी गाउपालिका स्वास्थ्य शाखाका प्रमुख गंगालाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

शिविरमा हाडजोर्नीका बिरामी धेरै आएको मंगलटार स्वास्थ्य चौकीका प्रमुख निरा बरालले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्