कार्यालय परिसरभित्रै प्रहरी जवानमाथि यातना

0
Shares

काठमाडौं । ‘मुस्कानसहितको सेवा’ दिने प्रहरी आफैंले आफ्ना कर्मचारीमाथि गरेको गैरन्यायिक व्यवहारले प्रहरीमाथि थप प्रश्न उठेको भन्दै जनस्तरबाट छानबिन गर्न माग गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हात बाँधेर यातना दिइरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाउँदै जनस्तरबाट छानबिनको माग गरिएको हो ।

महोत्तरीको जलेश्वर नगरपालिका–८ फूलहट्टा घर भई जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई हात पछाडि पारेर बाँधी यातना दिएको भिडियो सार्वजनिक भएको हो ।

रायलाई आफ्नै कार्यालयका प्रहरी निरीक्षक हेमन्त राईले हात बाँधेर यातना दिएको आरोप लागको छ । सामाजिक सञ्जालमा भाइरल भिडियोमा प्रहरी जवान राय भक्कानिएर रुँदै बाँधिएको हात खोलिदिन अनुरोध गरेको देखिन्छ ।

प्रहरी जवान रायसँग दोहोरो सम्वादमा रहेका व्यक्तिले कहाँ रक्सी खाएर आइस् भन्ने प्रश्न गरेको र रायले आफूले रक्सी नखाएको यदि खाएको प्रमाणित भए जागिर खाइदिन अनुरोध गरेको संवाद भिडियोमा सुनिन्छ ।

भिडियो संवादमा रहेको भनिएका प्रहरी निरीक्षक राईले पनि ‘रक्सी खाए नखाएको जाँचपछि निस्की हाल्छ’ भन्दै मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै गरेको सुनिन्छ ।

प्रहरी जवान रायले भिडियोमा रुँदै ‘मलाई यसरी याताना नदिनुस्, बरु मारिदिनुस्’ भनेको सुनिएको छ । सार्वजनिक भिडियोले प्रहरीभित्र अझै पनि तल्लो दर्जाको कर्मचारीमाथि गरिने व्यवहार कस्तो छ भन्ने प्रष्ट हुन्छ ।

लगातार अधिक ड्युटी गराएको गुनासो गर्न आफ्ना कमान्डर प्रहरी निरीक्षक राईकोमा पुगेको बखत प्रहरी जवान रायलाई प्रहरी निरीक्षक राईले गाली गलौज गरेको प्रहरी जवान रायको परिवारले आरोप लगाएको छ । इन्स्पेक्टर राईले गालीगलौज गरेपछि आक्रोशित प्रहरी जवान रायले पनि जवाफ फर्काएपछि हात बाँधेर १२ घण्टासम्म यातना दिएको आरोप परिवारजनले लगाएका छन् । रायका आफन्तले न्यायको लागि अदालत जाने बताएका छन् ।

सिरहाका सूचना अधिकारी डीएसपी रवीन्द्रराज पाण्डेले त्यस्तो केही नभएको भन्दै यातना दिने प्रहरी निरीक्षकको बचाउ गर्ने प्रयास गर्नुभएको छ । उहाँले प्रहरी जवान राय डिप्रेसनमा गएको र रायलाई पटकपटक चेतावनी दिँदा पनि सुधार नआएपछि हात पछाडि फर्काएर हतकडी लगाइएको दाबी गर्नुभयो ।

डीएसपी पाण्डेले रायले मादक पदार्थ सेवन गरेको भनिए पनि मेडिकल रिपोर्टमा नदेखिएको बताइएको छ ।

उक्त घटना सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनकराज भट्टराईलाई घटनाको छानबिन गर्न निर्देशन दिएको छ ।

उक्त निर्देशनपछि डीआईजी भट्टराई स्वयं जिल्ला प्रहरी कार्यालय सिराह पुग्नुभएको छ । उहाँले घटना के भएको हो भनेर छानबिन शुरू भइसकेको नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले घटनाको बारेमा छानबिन गर्न डीआईजी नै घटनास्थलमा पुगेकाले सत्यतथ्य बाहिर आउने जानकारी दिनुभयो ।