राउत पक्राउपछि सचिवहरूको आक्रोश : ‘निजामती प्रशासनलाई भताभुंग बनाउने खेल सह्य छैन’

प्रहार विरुद्ध लड्न भन्दै निजामतीको संरक्षण समूह

0
Shares

–सचिव बैठकमा नयाँ रणनीति बनाइने
–मुख्य सचिवले कडाइका साथ कुरा गर्न नसकेको भन्दै आलोचना
–मनोबल गिराउने काम गरेको आरोप
–ट्रेड युनियनद्वारा सचिव पक्राउको विरोध

काठमाडौं । ललितानिवास जग्गा प्ररकणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई हचुवाका आधारमा पक्राउ गरेको भन्दै सरकारका अधिकांश सचिवहरू प्रहरीसँग आक्रोशित बनेका छन् । आफ्ना बिरामी बुबालाई भेट्न विराटनगर जान लागेका बहालवाला सचिवलाई अपराधीसरह व्यवहार गर्दै पक्राउ गर्दासमेत प्रधानमन्त्री, गृहमन्त्री र मुख्य सचिवले केही गर्न नसकेको भन्दै उनीहरूको समेत आलोचना भएको छ ।

सचिवहरूले नागरिक प्रशासनमाथि प्रहरी प्रशासन अनावश्यक रूपमा हाबी हुन खोजेको र सो कार्य आफूहरूको लागि सह्य नहुने चेतावनीसमेत दिएका छन् । सरकारका केही सचिवहरूले राउत पक्राउपछि मुख्य सचिव डा बैकुण्ठ अर्यालसँग केही दिनदेखि औपचारिक अनौपचारिक छलफल गरी हचुवामा सचिव पक्राउ गर्दा त्यसले सबै सचिव तथा आम कर्मचारीको मनोबल गिरेको र कार्यस्थलमा काम गर्ने उचित वातावरणसमेत नभएको बताउँदै असन्तुष्टि पोख्दै आइरहेका छन् ।

ललितानिवासको जग्गा व्यक्ति र गुठीको नाममा बनाउनुअघि टिप्पणी उठाउने तत्कालीन शाखा अधिकृत र हालका बहालवाला सचिव कृष्णबहादुुर राउतलाई पक्राउ गरेकोमा कर्मचारी वृत्तमा असन्तुष्टि व्यापक छ । आगामी सोमबार बस्ने सचिव बैठकमा यो विषयलाई प्रमुख एजेन्डा बनाइने भएको छ । निजामती प्रशासनलाई कमजोर र भताभुंग बनाउने उद्देश्यले यस्ता कदम चालिएको भन्दै यस्ता कदमलाई निरुत्साहित पार्ने गरी सचिव बैठकमा विशेष योजना बनाउने तयारी गरिएको एक सचिवले बताए । सचिव पक्राउ पर्दा त्यसका विरुद्ध कर्मचारीका मुख्य अभिभावकका रूपमा रहेका मुख्य सचिवले खेल्नुपर्ने भूमिका सशक्त नभएको विषयमा समेत सचिव बैठकमा आवाज उठ्ने बताइएको छ । कर्मचारीको मुख्य अभिभावकीय भूमिकामा रहेकाबाटै विशेष खालको अभिभावकीय भूमिका निर्वाह हुन नसक्दा निजामतीको सर्वोच्च पदकै अवमूल्यन भएको भन्दै आमकर्मचारीहरू आक्रोशित बनेका छन् । उनीहरूले मुख्य सचिवले सचिव पक्राउ पर्दा त्यसका विरुद्ध प्रधानमन्त्री र गृहमन्त्रीसँग सशक्त रूपमा कुरा गर्न नसकेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरे ।

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने गिरोहमा राजनीतिक नेतृत्व, भूमाफिया र कर्मचारीहरू गरी त्रिपक्षीय नेक्सस देखिए पनि सीआईबीले भने कर्मचारीहरूलाई बढी निशाना बनाएको भन्दै कर्मचारी संयन्त्रबाट विरोध भएको हो । सीआईबीले प्रधानमन्त्री र गृहमन्त्रीसँग समन्वय नगरी सचिवलाई पक्राउ गर्न नसक्ने भन्दै कर्मचारीले यस विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले समेत संवेदनशीलता देखाउन नसकेको भन्दै गुनासो गरेका छन् ।

टिप्पणी उठाएकै भरमा पक्राउ गर्ने हो भने अब आम कर्मचारीले कार्यथलोमा कसरी काम गर्न सक्छन् भन्दै कर्मचारीहरूले आगामी दिनमा काम गर्न नसकिने चेतावनी दिन थालेका छन् ।

सरकारी जग्गा व्यक्तिको नाममा बनाउने किर्ते धन्दा सञ्चालन गर्ने र कर्मचारीतन्त्रलाई बाध्य पार्ने राजनीतिक नेतृत्वमाथि भने सीआईबीले कुनै कारबाही गर्न सकेको छैन । यसप्रति आम कर्मचारी क्रुद्ध छन् । कर्मचारी सम्बद्ध विभिन्न टे«ड युिनयनहरूले पनि छुट्टाछुटै विज्ञप्ति जारी गर्दै सचिव पक्राउको विरोध गरेका छन् ।

प्रहार विरुद्ध लड्न भन्दै निजामतीको संरक्षण समूह

देशभरमा हजारौं निजामती कर्मचारीहरूले निजामती सेवामाथि भइरहेको चौतर्फी आक्रमण विरुद्ध एकजुट भएर लड्न सामाजिक सञ्जालमार्फत क्याम्पियन चलाएका छन् । निजामती कर्मचारीले ‘निजामती सेवा संरक्षण समूह’ गठन गरी निजामती सेवाको संरक्षणमा जुट्न थालेका हुन् ।

विशेष गरी सचिव कृष्णबहादुर राउतको अन्यायपूर्ण गिरफ्तारी भएको बताउँदै सो समूहले राउतमाथि न्याय दिनुपर्ने आवाज बुलन्द गर्न थालेको जनाइएको छ । स्वतस्फूत रूपमा गठन भएको यो समूहले निजामती सेवामा देखा परेका विभिन्न समस्या र यसमाथि हुन सक्ने खतराकोसमेत आकलन गरी समस्या समाधानको लागि आवश्यक पैरवी गर्ने बताइएको छ ।