कोरा साईक्लिङ्ग च्यालेन्ज ३० असारमा

0
Shares

नवलपरासी । 

पूर्वी नवलपरासीको कावासोतीमा कोरा साईक्लिङ्ग च्यालेन्ज हुने भएको छ । स्वचालित सवारीको प्रयोग घटाई मानव स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले कावासोती  साईक्लिङ्ग ग्रुपले कोरा साईक्लिङ्ग प्रतियोगिता आयोजना गरेको अध्यक्ष अजय श्रेष्ठले बताए ।

यही असार ३० गते बिहान स्थानीय नर्मदेश्वर शिवालय कावासोतीबाट सुर हुने कोरा साईक्लिङ्ग च्यालेन्जमा करिब १ सय जनाको सहभागिता रहने ग्रुपले  बुधवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । स्थानीय कावासोती, देव चुली र मध्य विन्दु नगरपालिका अन्तरगतका विभिन्न धार्मिक स्थल, पर्यटकीय क्षेत्र र वडाहरूलाई समेट्दै करिब ५० किलो मिटरको दुरीमा साईक्लिङ्ग गरिने आयोजक पक्षले जनाएको छ ।

ग्रुपले नियमित साईक्लिङ्ग गर्ने  क्रममा सार्वजनिक मठ मन्दिरको सर सफाइ,राष्ट्रिय निकुञ्ज,नदी क्षेत्रको प्लास्टिकजन्य फोहर संकलन जस्ता सामाजिक उत्तरदायित्वका कार्यहरू गर्दै आएको जनाएको  छ । ग्रुपले स्वास्थ्यका लागि   साईक्लिङ्ग भन्ने मूलमन्त्रका साथ साइकल चलाउन थालेसँगै नगर क्षेत्रमा उद्योग व्यवसायी ,कर्मचारी तथा आम सर्वसाधारणहरूमा पनि साइकल चढ्ने प्रवृत्ति बढ्दै गएको स्थानीयहरू बताउँछन् ।