क्यान्सर पीडित मोक्तानलाई नेपाली कांग्रेसको ३ लाख २७ हजार सहयोग 

0
Shares

काठमाडौं  । 

ब्लड क्यान्सरबाट पीडित तेमाल गाउँपालिका वडा नं ७ का ११ वर्षीय अंकित कुमार मोक्तानको उपचारको लागि नेपाली कांग्रेस काभ्रे क्षेत्र नं १ को प्रदेश सभा १ (क) को अगुवाइमा सहयोग संकलन गरी हस्तान्तरण गरिएको छ ।

प्रदेश कार्यसमितिको अगुवाइमा संकलन भएको ३ लाख २७ हजार १ सय रुपैयाँ बुधबार बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री समेत रहेका नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले बुबा अनिलकुमार मोक्तान र आमा शान्ति तामाङलाई हस्तान्तरण गर्नुभएको छ ।

बाबुको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाली कांग्रेस प्रदेश १ (क) क्षेत्रीय कार्यसमिति सदस्यबाट संकलित १ लाख १ सय र अन्य सहयोगी दाताबाट संकलित रकम समेत गरी ३ लाख २७ हजार १ सय रकम हस्तान्तरण गरिएको अभियानको संयोजन गर्नुभएका नेपाली कांग्रेस प्रदेश १ ९क० क्षेत्रीय कार्यसमितिका कोषाध्यक्ष रमेश तामाङले जानकारी दिनुभयो ।

सहयोग हस्तान्तरण गर्दै मन्त्री लामाले बालकको उपचारको लागि पार्टीका साथीहरूबाट सहयोग संकलन गरी हस्तान्तरण गरिएको बताउँदै सरकारको तर्फबाट पनि उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । सहयोगप्रति आभारी रहेको जनाउँदै अंकित कुमारले नयाँ जीवन पाउने आशा जागेको बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नं १(क)का सभापति राम योञ्जन, तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, भुम्लु गाउँपालिका उपाध्यक्ष दावा लामा, महाभारत गाउँपालिका उपाध्यक्ष सागर मोक्तान, महाधिवेशन प्रतिनिधि शान्ति तामाङ, नेपाली कांग्रेस क्षेत्र नं १ (क) का उपसभापति रणबहादुर तामाङ, सचिव दावा फेञ्चु लामा, नेपाली कांग्रेस क्षेत्र नं २ (क)का सचिव सजय तामाङ, नेपाली कांग्रेस क्षेत्र नं १ (क)का कोषाध्यक्ष रमेश तामाङ, सदस्य डम्बर लामा, तेमाल गाउँपालिकाका प्रवक्ता इन्द्रलाल तामाङ, रोशी गाउँपालिकाका प्रवक्ता वसन्त लामा, नेपाल तरुण दलका केन्द्रीय सदस्य स्मिता मोक्तान, समाजसेवी अरुणकुमार श्रेष्ठ, विकास लामालगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।