सन्तोषको उपचारका लागि पत्रकार तारुकेको पहलमा आर्थिक संकलन 

0
Shares

काठमाडौं ।

विगत दुई वर्षदेखि आर्थिक अभावकै कारण उपचार नपाएर घरमै थलिएका नुवाकोट तारकेश्वर गाउँपालिका वडा -३ चन्दनीका ३१ वर्षीय सन्तोष परियारले अब उपचार पाउने भएका छन् ।

प्रेस चौतारी नेपालका केन्द्रिय सचिव तथा अर्थपथ डटकमका सम्पादक विष्णु तारुकेको पहलमा थालिएको फेसबुकमार्फत आर्थिक सहयोग संकलन अभियानबाट ४ दिनमै एक लाख ९७ हजार ८ सय २० रुपैयाँ जम्मा भएको हो ।

संकलित सहयोग रकम मंगलवार पत्रकार तारुकेसहितको उपस्थितिमा उनको परिवारलाई हस्तान्तरण गरिएको छ । तारकेश्वर गाउँपालिकाका पुर्वअध्यक्ष रमेश बहादुर बस्ती, वडा-२ का वडा अध्यक्ष शिव पनेरु र वडा-६ का नारायण रिमालसहित घरमै पुगेर तारुकेले प्राप्त सहयोग रकमको चेक उनकाे श्रीमती रितु नेपालीलाई हस्तान्तरण गर्दै अब पैसा अभावकै कारण उपचार नरोकिने विश्वास व्यक्त गरे ।

‘पैसाकै अभावको कारण सन्तोषको उपचार रोकिने अवस्था छैन’, तारुकेले भने–‘उनलाई बचाउन हामीले थालेको अभियानमा सामाजिक सञ्जालबाटै सबैलाई आव्हान गर्‍यौँ । मानवीय यस कार्यमा जोडिन आउनुभएका सबै सहयोगी मनबाट गरिबीकै कारण उपचार अभावमा थलिन पुगेका बिरामीको उपचार पनि सम्भव हुन्छ भन्ने अवस्था बनेको छ ।’

यस अभियानमा पत्रकार तारुकेसहित भरमा रहेका सोही गाउँका दीपक ढकाल, दिनेश परियारसहित धेरै व्यक्तिहरूले पहलकदमी दिएका थिए भने सामाजिक सञ्जालबाटै गरिएको अनुरोधमा करिब एक सय जना सहयोगीहरूले प्रभु बैंक रातमाटे शाखामा रहेको सन्तोषको श्रीमतीको खातामा रकम जम्मा गरिदिएका थिए ।

दुई वर्षअघि वैदेशिक रोजगारीबाट घर फर्किएपछि अकस्मात् बिरामी भएका सन्तोषको एउटा खुट्टा नचल्ने र एउटा आँखा बन्द हुन पुग्यो । उपचारका लागि राजधानी काठमाडौंस्थित शिक्षण अस्पताल पुगेका उनलाई सुरुमै एक लाख रुपैयाँ डिजोजिड राख्नुपर्ने भनिएको थियो तर, आर्थिक अभावका कारण त्यति ठुलो रकम जम्मा गर्न नसकेपछि उपचार नै सुरु नगरी अस्पतालबाट निस्कनुपर्ने बाध्यता बन्यो ।

त्यसपछि सन्तोषकी श्रीमती आफ्नै गाउँपालिकावासी समेत रहेका पत्रकार तारुकेलाई भेट्न पुगिन् र आफ्नो दु:खको कहानी सुनाइन् । सन्तोषले गरिबीकै कारण उपचार नपाउने परिस्थिति आउन नदिन आफूले पहल गर्ने आश्वासन दिएका थिए । तारुकेले सहयोगका लागि सबैलाई गरेको आह्वानपछि बिरामीले उपचार पाउने वातावरण बनेको र सन्तोषले न्याय पाउने अवस्था बनेको तारकेश्वर गाउँपालिका २ का वडा अध्यक्ष शिव पनेरुले प्रशंसा व्यक्त गरे ।  सहयोग संकलनको लागी तारुकावासी भारतमा रहेका दीपक ढकाललगायतले सहयोग गरेका थिए । करिब १ सयभन्दा बढी व्यक्तिहरुबाट संकलित १ लाख ९७ हजार रकम बिरामीको उपचारमा खर्च हुनेछ ।