बनेपा ९ का सबै नाका र चोकमा सिसि क्यामेरा

224
Shares

काभ्रे ।

बनेपा नगरपालिका वडा नम्वर ९ ले वडा भित्र प्रवेश गर्ने सबै नाकामा सिसिटिभी क्यामेरा जडान गरेको छ । वडामा हुने अपराधिक घटना हुन नदिन र भई हालेमा तत्कालै अनुसन्धानका लागि सहज होस् भन्ने उदेश्यले नागरिकहरुको हितका लागि सिसिटिभी क्यामेरा जडान गरिएको वडा अध्यक्ष नृपेश बादेले बताउनु भयो ।

‘नगरपालिकाले आफ्नै ढंगले सिसि क्यामेरा जडान गरिरहेको छ । वडाले अन्य पूर्वाधार जस्तै शान्ति सुरक्षाका लागि सिसि क्यामेरा जडान महत्वपूर्ण ठान्यौं । वडा सिमाना भित्र प्रवेश गर्ने सबै नाकाहरुमा सिसि क्यामेरा जडान गरिएको छ’–वडा अध्यक्ष नृपेश बादेले भन्नुभयो–‘नाईट भिजन सहितका क्यामेराले सडकमा हिडिरहेका सवारी साधनको नम्वर सहित देखिने गरी रेकर्ड गरिरहेको हुन्छ ।

यसले गर्दा वडा भित्र हुन सक्ने जघन्य अपराध, चोरी पैठारी तथा अन्य गलत कृयाकलापको रोकथाम र नियन्त्रणमा सहयोग पुग्नेछ ।’ १० लाख रुपैया बजेट विनियोजन भएकोमा ९ लाख ९६ हजार ८ सय ६० रुपैयामा १८ वटा क्यामेरा जडान गरिएको वडा सचिव विशाल कायश्थले बताउनु भयो ।

फाईबर केबुल मार्फत जडान गरिएको सिसि क्यामेराको नियमित मर्मत सम्भार तथा थप सिसि क्यामेरा जडानका लागि हरेक वर्ष वडागत बजेट विनियोजन गरिने अध्यक्ष बादेले बताउनु भयो । ‘वडाका सबै चोक चोक र बस्ति बस्तिमा सिसि क्यामेरा जडान गर्नेर्छाै’–वडा अध्यक्ष बादेले भन्नुभयो–‘सिसि क्यामेराका अलावा नागरिकहरुको आवश्यकताका सडक तथा अन्य पूर्वाधारका कार्यलाई निरन्तर प्राथमिकतामा राख्नेछौं ।’

वडा र नगर मार्फत विनियोजन हुने बजेट तथा योजनालाई हरेक वर्ष फरक फरक टोल तथा क्षेत्रमा पुग्ने गरी दोहोरोपना पनि नहुने तर सबै टोलमा पुग्ने गरी विनियोजन गरिएको अध्यक्ष नृपेश बादेले बताउनु भयो । ५ वर्षको अवधीमा वडाका सबै टोलमा विभिन्न योजनाहरु संचालन गर्ने गरी योजना निर्माण गरिएको बताउँदै अध्यक्ष बादेले पार्क, खेल मैदान, युवा तथा बालबालिकाहरुका लागि आवश्यक पर्ने खेल सामाग्री, खानेपानी, मठ मन्दिरको संरक्षण तथा मर्मत सम्भार, जात्रा व्यवस्थापनका लागि आवश्यक पर्ने कार्य लगायतका गतिविधिलाई प्राथमिकता दिएको बताउनु भयो ।

सिसि क्यामेराले वडाबासीहरुको शान्ति सुरक्षालाई विशेष सहयोग पुग्ने भन्दै बागमती प्रदेश सभा सदस्य कन्चनचन्द्र बादेले सिंङ्गो नगरमा जडान भएका क्यामेराहरुको नियमित मर्मत सम्भार तथा यसको निरन्तरताका लागि ध्यान दिन अनुरोध गर्नु भयो । बनेपा उपत्यकासँग जोडिएको महत्वपूर्ण शहरका रुपमा रहेकाले विभिन्न गतिविधिको निगरानी गर्ने र नगरलाई शान्त तथा अपराध रहित बनाउन सिसि क्यामेराले महत्वपूर्ण भूमिका खेल्ने प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेले बताउनु भयो ।

नगर प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगरपालिकाले गरिरहेको अभियानलाई वडा आफैले महत्वका साथ सिसि क्यामेरा जडान गरेर वडाबासीहरुलाई सुरक्षित राख्ने अभियानको प्रशंसा गर्नु भयो । बनेपाको पहिलो वडाका रुपमा वडा नम्वर ९ सिसि क्यामेरा जडित भएको बताउँदै नगर प्रमुख शाक्यले नगरपालिका भित्र रहेका ६४ वटा क्यामेराको नियमित मर्मत सम्भार गर्दै नयाँ क्यामेराहरु जडान गरी सिंगो नगरमा हुन सक्ने अपराधलाई नियन्त्रण गर्न सहयोग पु¥याउने बताउनु भयो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बनेपाका डिएस्वी रेशम बोहोराले प्रविधिको युगसँगै सिसिटिभी क्यामेरा जडानले अनुसन्धानमा सहयोग पुग्ने बताउनु भयो । प्रमाण जुटाउन, अनुसन्धान तथा प्रविधिमैत्री अनुसन्धानमा सिसि क्यामेराले सहयोग पुग्ने बताउँदै यसको सुरक्षा र नियमित मर्मत सम्भारमा सहयोग र समन्वय गर्ने उहाँले बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले वडालाई सुरक्षित राख्न वडा कार्यालयले शुरु गरेका योजनाहरुमा सकारात्मक सहयोग र समन्वय रहने बताउनुभयो ।