भुम्लुमा स्वास्थ्य शिविर सञ्चालन



काभ्रे। 

काभ्रेपलान्चोकको भुम्लु गाउँपालिकामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। भुम्लु गाउँपालिकाको आयोजनामा सिंगापुर रेडक्रस र प्रारम्भ सामाजिक संस्थाको सहयोगमा दुई दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर संचालन भएको हो।

भुम्लु गाउँपालिका स्थित प्रकाश माविमा सञ्चालित उक्त शिविरको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले समन्वय गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.पुरुषोत्तम सेढाईले जानकारी गराउनुभयो ।

शिविरमा हाडजोर्नी, मुटु, स्त्रीरोग, योग तथा प्राकृतिक चिकित्सा लगायतको स्वास्थ्य परीक्षणका लागि सिंगापुर रेडक्रसबाट आएका चिकित्सकको टोली,किष्ट मेडिकल कलेज ललितपुरका विशेषज्ञ चिकित्सक, मध्यपुर ठिमी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, स्थानीय स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु लगायतले स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेका थिए ।

विद्यालयमा सञ्चालित स्वास्थ्य शिविरमा स्थानीय बासिन्दाहरुलाई पायक पर्ने गरी व्यवस्थापन गरिएको भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङले बताउनुभयो । उहाँले नेपाली जनताको स्वास्थ्य उपचारका लागि आवश्यक सहयोग गर्ने सिंगापुर रेडक्रस र प्रारम्भ नेपाल विशेष धन्यवाद दिनुका साथै आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

शिविरमा विशेषज्ञ चिकित्सकद्वारा बिरामीको उपचार गर्नुका साथै औषधि निःशुल्क रुपमा उपलब्ध गराइएको थियो । पहिलो दिनको शिविरमा अर्थोपेडिकमा १ सय ७ जना, जनरल फिजिसियन ९० जना, गाईनोमा ४५ जना, अकुपञ्चरमा ५५ जना, कार्डियोमा २१ जनाले निःशुल्क सेवा लिएका छन् ।

टीपरबाट झर्दा खुट्टा भाचिएर स्टिल राखेको जटिले अवस्थामा स्वास्थ्य शिविरमा आएका एक युवा बिरामीलाई उपचारपछि प्लास्टिक सर्जरी समेत गर्ने गरी बर्न विशेषज्ञ डा. सुरेन्द्रजंग बस्नेतले शिविरमै माइनर सर्जरी गर्नुका साथै किष्ट मेडिकल कलेजमा अर्थो प्लास्टिक सर्जरीका लागि रिफर गर्न लागेको प्रारम्भ नेपालका कार्यक्रम निर्देशक तथा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिनाले जानकारी गराउनुभयो । बिरामीको खुट्टामा स्टिल राखिएको र जटिल अवस्थामा आर्थिक अभावका कारण बिरामी छटपटाइरहेको अवस्थामा उपचारको लागि लाग्ने खर्च भुम्लु गाउँपालिका, प्रारम्भ नेपाल लगायतले जुटाई सहयोग गर्ने तयारी भइरहेको पनि उहाँले जानकारी गराउनुभयो ।

सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि तथा प्रारम्भ नेपालका अध्यक्ष कल्पना क्षेत्रीले गाउँमा सिंगापुरदेखि विशेषज्ञ सहित सञ्चालित स्वास्थ्य शिविरबाट सक्दो लाभ लिन स्थानीय बासिन्दालाई अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्