सातै प्रदेशमा वर्षाको सम्भावना, सडक-हवाई यातायात प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन आग्रह

0
Shares

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त शाखाले जारी गरेको बुलेटिनअनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज (मंगलबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सातै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताईन् ।

बासीका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सातै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावा–हुरीको पनि सम्भावना रहेको छ ।

त्यस्तै सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने देखिन्छ ।

तसर्थ हावा हुरी भारी वर्षा, मेघ गर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गत जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।