१० गाडी चलाएको लेख्ने पत्रकारले प्रमाणित गर्नुस् राजीनामा दिन्छु : स्वास्थ्य मन्त्री बस्नेत



काठमाडौ । स्वास्थ्य मन्त्री मोहन बस्नेतले सोमबार आयोजित पत्रकार सम्मेलनमा दुई महिनाको प्रगति विवरण प्रस्तुत गर्नुका साथै संचारकर्मीहरुले गरेका प्रश्नको उत्तर दिँदै मैले १० वटा गाडी चलाएको समाचार लेख्ने पत्रकारले प्रमाणित गर्नुस् अहिले नै राजीनामा दिन्छु भन्दै चुनौति दिनुभयो ।

पत्रकार सम्मेलनमा उहाँले स्वास्थ्य मन्त्री भएदेखि अहिलेसम्म गरेका कामको विवरण सार्वजनिक गर्नुभएको थियो । उहाँले प्रस्तुत गर्नुभएको विवरणमा खासै नयाँ र नीतिगत रुपमा भएका निर्णय भन्दा पनि दैनिक रुपमा सचिवालयले समाचारका रुपमा यस अघि नै सार्वजनिक गरिसकेका बिषय नै बढी थिए ।

यो विवरणमा नयाँ भन्ने सरुवा वा बढुवा भएर पनि खटाएको ठाउँमा नगएका चिकित्सक कर्मचारीलाई एक साताभित्र काज फिर्ता गर्ने निर्देशन दिएको र अब श्रावण १ गतेदेखि त्यसो नगरे अर्थ मन्त्रालयले तलब निकासा नगर्ने अर्थमन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरिसकेको बारेमा स्वास्थ्य मन्त्री बस्नेतले जानकारी गराउँनुभयो ।

अस्पतालहरुमा विपन्न वर्गलाई निःशुल्क शैया उपलव्ध गराउने बिषयमा सरकारी अस्पताललाई सहमत गराउनेदेखि मन्त्रालयको परिसरमा कालोपत्रे र गार्डेनलाई व्यवस्थित गरी स्वच्छ तथा सफा बनाइएको लगायतका विषयलाई आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण उपलव्धीका रुपमा उहाँले प्रस्तुत गर्नुभयो ।

त्यस्तै ग्लोबल फण्डको पीआर स्वास्थ्य मन्त्रालयमा हुने, ४० प्रतिशतले बजेट सिलिङ घटाएको बेला लबिङ गरेर केही अर्व बजेट बढाउने विषय पनि उहाँका उपलब्धीहरुको सूचीमा समावेश भएको पाइयो । साथै एचपीभीको खोप सुरुवात तथा सञ्चालन कार्यनीति स्वीकृत गर्ने आगामी श्रावण १ गतेदेखि वीर अस्पतालमा विहान ८ बजेदेखि ओपिडी सञ्चालन हुने विषय मन्त्रीको उपलब्धीमूलक कार्यक्रममा समावेश गरि प्रस्तुत गरियो ।

प्रतिक्रिया दिनुहोस्